गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै दलित अभियानको ज्ञापनपत्र

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतले नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ । सोमबार, नेपाली राजदूतावास कार्यालयका प्रमुख अधिकारी सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

जातीय हिंसा र दुरुपयोगको आरोप

दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य सुशील ओखेडाका अनुसार गृहमन्त्री लेखकले सर्लाहीका सतेंद्र राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको घटनामा प्रहरी प्रशासनको दुरुपयोग गरी जातीय हिंसा, अन्याय र अत्याचार गराएको आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, “गृहमन्त्री पदमा बसेको व्यक्तिबाट जातीय हिंसा तथा अत्याचारको घटनाले समाजमा घृणा फैलाउने कार्य भएको” भन्दै यसबाट जातीय द्वन्द्व बढ्ने सम्भावनालाई लिएर सरकारको ध्यानाकर्षण गराइएको छ । यस्तै , गृहमन्त्री लेखकलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीको उपस्थिति

ज्ञापनपत्र बुझाउने क्रममा दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सचिव तथा युवा तथा खेलकुद प्रमुख शेर बहादुर विश्वकर्मा, बालबालिका तथा महिला प्रमुख मन्जु सेवा, केन्द्रीय कमिटी सदस्य तथा दिल्ली राज्य इन्चार्ज दिपक शिलाल, केन्द्रीय कमिटी सदस्य तथा दिल्ली राज्य सह-इन्चार्ज महेंद्र सिंह सार्की, केन्द्रिय कमिटी सदस्य सुशील ओखेडा, कमिटी सदस्य अनिल बिक, दिल्ली राज्य अध्यक्ष गोविन्द बिक, सल्लाहकार नरेंद्र नेपाली, महिला प्रमुख तारा नेपाली, आर्थिक प्रमुख नरेश नेपाली, जिल्ला इन्चार्ज (तिलक नगर) लोकेशन नेपाली , बिनोद आउजी र  तिलक नगर जिल्ला सदस्य बिस्ना देवी शिलाल उपस्थित थिए ।

सरकारलाई दलित अधिकारको संरक्षण गर्न आग्रह

दलितका लागि दलित अभियान केन्द्रीय समितिले नेपाल सरकारलाई दलित समुदायमाथि भइरहेका जातीय विभेद, हिंसा, र अन्याय अन्त्य गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, यस्ता घटनामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि उठाइएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले यो ज्ञापनपत्र नेपाल सरकारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

Loading...