केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधिद्वारा विकास निर्माणको अनुगमन

केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधिहरू मंगलबार विकास निर्माणको अनुगमनमा निस्केका छन् । गाउँपालिका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिसा धामीसहितको टोलीले केदारस्युँ-७ मा निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचना तथा सम्पन्न भइसकेका योजनाहरूको स्थलगत निरीक्षण गरेको हो ।

 

शिक्षा क्षेत्रमा अनुगमन र सुधारको प्रतिबद्धता

टोलीले काँडाचौरस्थित सुर्मा भवानी माध्यमिक विद्यालयको भवन अवलोकन गर्दै शिक्षकहरूलाई शिक्षामा सुधारका लागि सुझाव दिएको छ । कक्षा ८ का परीक्षार्थीहरूलाई ध्यान दिएर पढ्न र निर्धक्क भएर परीक्षा दिन प्रेरित गरिएको छ । साथै, भत्किएको विद्यालयको घेरबार पुनःनिर्माण गरिने अध्यक्ष बोहराले बताएका छन् । साथै विद्यालय र स्वास्थ्य संस्थामा किशोरीहरूका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।

कोल्ड चेम्बर भवन निरीक्षण

टोलीले दहसैनमा निर्माण गरिएको कोल्ड चेम्बर भवनको पनि निरीक्षण गरेको छ । आलु संकलन र भण्डारणका लागि उक्त भवन उपयोगी बनेको पाइएपछि स्थानीय उत्पादन संरक्षणका लागि यसको प्रभावकारी प्रयोग सुनिश्चित गर्ने योजना रहेको जनाइएको छ ।

भामचौर खानेपानी योजनाको अनुगमन

भामचौरमा वर्षौंदेखि खानेपानी समस्या रहँदै आएको थियो । स्थानीयहरू खोलाबाट पानी बोकेर ल्याउन बाध्य थिए । गाउँपालिकाले खानेपानी समस्या समाधान गर्न यस वर्ष ४ लाख रुपैयाँ विनियोजन गरेको छ । जसबाट पाइपलाइन विस्तार गरिएको छ ।

करिब ४ किलोमिटर टाढाको सुंगरेबाट पाइपमार्फत भामचौरमा खानेपानी पुर्याइएको छ । केही दिनअघि उपाध्यक्ष मनिसा धामी स्वयं पानीको मुहानको स्थलगत अवलोकन गर्न पुगेकी थिइन् । पानीको सम्भावना कम भएको ठाउँमा पनि पारदर्शी ढंगले काम गर्दै एक हप्तामै खानेपानी पुर्याउन सफल भएको भन्दै उनले उपभोक्ता समितिको प्रशंसा गरेकी छिन् । साथै, भामचौरको खानेपानी समस्या समाधान गर्न अझै पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

Loading...