
केदारस्युँ गाउँपालिका-७, दहसैनमा “सीप सिकौं, रोजगार बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अल्लो भाँगो प्रवर्द्धन तथा बुनाइ-सिलाइ सम्बन्धी सीप विकास तालिम आइतबारबाट सुरु भएको छ ।
यो तालिम स्थानीय दलित, महिला, एकल महिला, गरिब तथा बेरोजगार युवाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको हो । जसले उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्य राखेको छ । तालिम तीन महिनासम्म सञ्चालन हुनेछ ।
उद्यमशिलता विकास र बजारीकरणमा जोड
उद्यम विकास शाखा प्रमुख नरेश जेठाराका अनुसार यो कार्यक्रम तीन चरणमा सञ्चालन हुँदैछ । पहिलो चरणमा सामाजिक परिचालन, दोस्रो चरणमा उद्यमशिलता विकास तालिम र तेस्रो चरणमा सीप विकास तालिम दिइँदैछ । यसपछि प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरण गरिने छ । उनले भने, “तालिममा निरन्तर सहभागिता आवश्यक छ । यो कार्यक्रम तपाईंलाई रोजगारी दिने उद्देश्यले ल्याइएको हो । सीप सिकेपछि आफूले नै उत्पादन गर्न सकिन्छ, जसले स्थानीय स्तरमै आत्मनिर्भर बन्न सहयोग गर्ने छ ।”
गाउँपालिकाको पूर्ण सहयोग
केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले यो तालिम अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले भने, “हाम्रो पालिकाको माथिल्लो भेगमा अल्लो भाँगो प्रशस्त पाइन्छ, तर यसको सदुपयोग हुन सकेको छैन । अघिल्लो पुस्ताले भाँगोको लुगा बुन्थे, तर अहिले त्यो चलन हराउँदै गयो । यदि महिलाहरूलाई सीप दिएर उत्पादनतर्फ प्रेरित गर्न सक्यौं भने अल्लो भाँगोबाट विभिन्न सामाग्री उत्पादन गर्न सकिन्छ । तपाईंहरू सीप सिक्नुहोस्, हामी बजारीकरण गरिदिन्छौं, तपाईंहरूले बनाएका सामग्री हामी खरिद गर्छौं ।”
महिला सशक्तिकरणका लागि महत्वपूर्ण कदम
गाउँपालिका उपाध्यक्ष मनिषा धामीले तालिमले विशेष गरी महिलाहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान दिने बताइन् । उनले भनिन्, “महिला सशक्तिकरणका लागि सीप विकास अनिवार्य छ । अहिले हामी परनिर्भर हुनुभन्दा आफ्नै सीप प्रयोग गरेर जीविकोपार्जन गर्नुपर्छ । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर उत्पादन गर्न सकेमा आर्थिक रूपमा सशक्त बन्न सकिन्छ । यो तालिमले महिलाहरूलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”
सीप सिक्दै, आत्मनिर्भर बन्दै
यो तालिमले स्थानीय स्रोतको सही उपयोग गर्दै उद्यमशीलता बढाउने अपेक्षा गरिएको छ । सहभागीहरू तालिम पश्चात आफ्नै उत्पादनहरू बजारमा लैजान सक्नेछन्, जसले उनीहरूको आर्थिक स्थिति सुधार गर्न सहयोग पुर्याउनेछ । यो तालिमले अल्लो भाँगो प्रवर्द्धन मात्र नभई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने मार्ग खोल्ने बताइएको छ ।