बझाङमा जीप दुर्घटना, चालक र सहचालक सम्पर्कविहीन

बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीस्थित कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालक र सहचालक सम्पर्कविहीन भएका छन् । मष्टा गाउँपालिकाबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२१५ नम्बरको जीप सोमबार राति करिब १२:३० बजे सडकबाट करिब ५० मिटर तल खसेको थियो । स्थानीयले मंगलबार बिहान १०:३० बजे प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षक जयबहादुर डाँगाको कमाण्डमा खटिएको चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा जीपमा चालक मष्टा गाउँपालिका-६ का २५ वर्षीय सुरेश बोहरा र सहचालक मष्टा गाउँपालिका- २ का २२ वर्षीय प्रेम धामी मात्रै सवार रहेको खुलेको छ । उनीहरू हालसम्म सम्पर्कमा आएका छैनन् ।

दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको छ भने प्रहरी टोलीले थप अनुसन्धान तथा खोजी कार्य जारी राखेको छ ।

Loading...