बझाङ जिल्लाभित्र सञ्चालन भइरहेका ट्याक्टर तथा टिप्परहरूले निर्माण सामग्री ढुवानी गर्दा ढाला नलगाउने, ढालामा नम्बर नराख्ने र निर्माण सामग्री पालले नछोप्ने जस्ता लापरबाही गर्दै आएको पाइएको छ । यसका कारण आम सडक प्रयोगकर्ताहरू असुरक्षित महसुस गर्न बाध्य भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले पटक-पटक नियम पालनाका लागि सूचित गर्दा पनि सम्बन्धित व्यवसायी र चालकहरू अटेर गर्दै आएकाले अब कडा कारबाही गर्ने तयारी गरिएको छ ।
ट्राफिक प्रहरीले सूचनामार्फत जानकारी गराउँदै अबदेखि नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई कानुनी दायरामा ल्याइने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
सडक सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले सबै ट्याक्टर तथा टिप्पर व्यवसायी र चालकहरूलाई नियमअनुसार ढुवानी गर्न आग्रह गरेको छ । यदि अब पनि अटेर गरेमा ट्राफिक नियमअनुसार आवश्यक कारबाही गरिने बताइएको छ ।