अपिहिमाल गाउँपालिकाले आयोजना गरिएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिका-१ का विभिन्न बस्तीका सेवाग्राहीहरूलाई लक्षित गरी एकीकृत घुम्ती शिविरको आयोजना गरीको थियो ।
खण्डेश्वरीमा आयोजित उक्त शिविरमा स्थानीय बासिन्दाहरूलाई विभिन्न आवश्यक सेवा प्रदान गरिएको थियो । शिविर अन्तर्गत आरुखोड, सिति, गुरसाड, ल्वाथि, लुम्चा बस्तीका सेवाग्राहीहरूलाई स्वास्थ्य जाँच तथा आवश्यक औषधि वितरण गरिएको हो । साथै, कृषि बिउबिजन वितरण, कृषि सम्बन्धी परामर्श सेवा, पशुचौपायामा लाग्ने रोगहरूको नियन्त्रणका लागि औषधि वितरण तथा पशु सेवा परामर्श पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, आयुर्वेद औषधि तथा मालिस तेल वितरणसहित आयुर्वेद परामर्श सेवा पनि उपलब्ध गराइएको छ । अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत स्थानीय ज्येष्ठ नागरिकहरूलाई कम्मल, टोपी, जुत्ता र पौष्टिक आहारका रूपमा स्थानीय गुड वितरण गरिएको थियो ।
शिविरको क्रममा भवानी आधारभूत विद्यालय, सिति पाटाको भौतिक संरचना तथा आवश्यक सुधारबारे छलफलसमेत गरिएको थियो । शिविरमा उपस्थित सम्पूर्ण सेवाग्राहीहरूलाई आयोजक गाउँपालिकाले विशेष धन्यवाद व्यक्त गरेको छ ।