बझाङ — बझाङको दुर्गाथली गाउँपालिका–५, बेतालमाडुमा निर्माण भइरहेको आधुनिक पार्कको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
हालका वर्षहरूमा रमणीय पार्कहरूमा घुम्न आउने पर्यटकहरूको संख्या बढ्दै गएपछि दुर्गाथली गाउँपालिकाले पर्यटकीय सम्भावना भएको स्थान बेतालमाडुमा आधुनिक पार्क निर्माण सुरु गरेको हो ।
पार्क निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको हिमाली–पहाडी समृद्धि कार्यक्रमबाट ४४ लाख रुपैयाँ र गाउँपालिकाबाट थप ४ लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँकी अपुग बजेट भने पालिकाको क्रमागत योजना मार्फत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
पार्कमा “आइ लभ यु दुर्गाथली” लेखिएको साइनबोर्ड, देउडा खेल्ने स्थान, ओपन जिम, इगलको मूर्ति, पिङ, सिँढी लगायतका आकर्षक संरचना निर्माण हुनेछन् ।
गाउँपालिका अध्यक्ष दिलबहादुर थापा ‘तुफान’का अनुसार पार्कलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । “दुर्गाथली गाउँपालिकाको मात्र नभइ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचसहित काम अघि बढाइएको छ,” अध्यक्ष थापाले भन्नुभयो, “अब छिट्टै नागरिकहरूले पार्क अवलोकन र घुमघाम गर्न पाउनेछन् ।”
बझाङ जिल्लामा पहिलो पटक यति ठूलो र व्यवस्थित पार्क निर्माण हुन लागेको हो । स्थानीयवासी र पर्यटकहरूले यसलाई नयाँ आकर्षणका रूपमा लिने अपेक्षा गरिएको छ ।