बझाङ एमालेमा सिंह र महरको टक्कर, कुन गुट बलियो? 

नेकपा एमाले बझाङमा दुई गुटको लडाइँ चरम बिन्दुतर्फ उन्मुख भएको छ । जिल्ला इन्चार्ज भैरव सिंह समूह र युवा नेता ऐन महर नेतृत्वको समूहबीचको द्वन्द्व घरभित्र मात्रै सिमित नभएर चोक चौतारोसम्म पुगेको छ । जिल्ला इन्चार्ज भैरव बहादुर सिंह स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन सकेका छैनन् । इन्चार्ज भूमिकालाई नै वेवास्ता गरेको भन्दै भैरव सिंहको समूहले बैठक बहिस्कार गरेको छ भने एमालेभित्रको किचलो सामाजिक सञ्जालमै छताछुल्ल भएको छ ।

 

देउलेखमा भएको पार्टी बैठकमा सिंह पक्षका नेताहरू अफिलाल ओखेडामाथि देखाइएको व्यवहारलाई ‘गैरकम्युनिस्ट चरित्र’ र ‘बर्गीय असहिष्णुता’ को रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएका छन् ।  पार्टीकै एक ऐतिहासिक नेता अपमानित भएको आरोप सिंह गुटका नेता लोकेन्द्र सिंहले लगाए । त्यस्तै सोही गुटकी नेतृ सबिता खड्काले पार्टी बैठकलाई “स्वेच्छाधारी, गुटवादी र एकल निर्णयमुखी” भन्दै खुला असहमति जनाइन ।”

 

एमालेभित्रको दुई गुटमा को शक्तिशाली भन्ने आ-आफ्नै दावा छ  ।

भैरव सिंहको गुटमा संविधानसभा सदस्य अफिलाल ओखेडा, पूर्व वन राज्यमन्त्री आशा बिक, लोकेन्द्र सिंह, सबिता खड्का, निशा धामीलगायत छ्न् ।

 

महर गुटमा पूर्व प्रदेशसभामुख अर्जुन थापा, संविधानसभा सदस्य एलबी रावल, दल बहादुर धामीजस्ता युवा र क्षेत्रीय प्रभावशाली नेताहरूको समर्थन देखिन्छ । जनक जोशी, आनन्दलाल बिकलगायत पूर्व माओवादी पृष्ठभूमिका नेताहरू ऐनमहर सँगै छन् ।

सदरमुकाम चैनपुरमा सम्पन्न भएको ९ औंअहाधिवेशनमा महर गुटले ९५ प्रतिशत पद पकडमा राखेको थियो । सिंह गुटमा जम्मा ५ प्रतिशत सदस्य जितेको थियो । सिंहलाई एमाले हेडक्वाटरले जिल्ला इन्चार्ज नियुक्त गरेपनी उनको धरातलमा बलियो उपस्थिति देखिएन । सोही कारणले पनि इन्चार्ज सिंहलाई एमाले वृतमा “टिके इन्चार्ज” भनेर खिसीट्युरी हुने गरेको चर्चा सुनिन्छ । अर्कोतिर जिल्ला इन्चार्जको कुर्सीमा ऐन महर देखा पर्ने कुरामा उनको गुट विस्वस्त देखिन्छ ।

 

Loading...