कास्की — कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यस वर्षको एसईई नतिजाले उलटफेरको संकेत देखाएको छ । लामो समयदेखि शीर्ष स्थान ओगट्दै आएका लाहाचोक क्षेत्रका विद्यालयहरू पछाडि परेका छन् भने अघिल्लो वर्षहरूमा कमजोर नतिजा ल्याएका विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यसपटक बराह मावि , भेंडाबारी ९५ प्रतिशत नतिजासहित पहिलो स्थानमा आएको छ भने । पृथ्वीनारायण मावि धम्पुस ९४ प्रतिशत नतिजासहित दोस्रो स्थानमा उक्लिएका छ । त्यस्तै धम्पुसकै उदय मावी ९३ प्रतिशत नतिजा सहित तेस्रो स्थानमा छ ।
लामो समयदेखि शैक्षिक चुनौतीसँग जुध्दै आएको श्री बराह माविले ४० जना सहभागीमध्ये ३८ जनालाई उतीर्ण गराउँदै ९५ प्रतिशत सफलता हासिल गरेको छ । विगतमा सामान्य नतिजामा सीमित यो विद्यालयले यसपटक माछापुच्छ्रे गाउँपालिकामै पहिलो स्थानमा उक्लिएर सबैलाई चकित तुल्याएको छ ।
विगतका बर्षहरुमा योग्यता क्रमको पुछारतिर हुने पृथ्वीनारायण मावि धम्पुसले नतिजामा अग्रगामी छलाङ ल्याएको छ । सहभागी १७ विधार्थी मध्ये १६ उत्तीर्ण गर्दै दोस्रो स्थान कायम गरेको हो । “यो नतिजा हासिल गर्नमा शिक्षक, बिब्यस, विद्यार्थी र समुदायले निकै मिहेनत गरेको थियो । हामीले विबिध कठिनाईका बाबजुद पनि निरन्तर परिश्रम गरेका थियौं । नतिजा अपेक्षाकृत नै आयो ।” पृथ्वीनारायण माविका गणित-बिज्ञान शिक्षक छविरमण पौडेलले खुसी व्यक्त गर्दै भने ।
विद्यालयमा पछिल्ला वर्षहरूमा देखिएको शिक्षकको सक्रियता , व्यवस्थापनको चासो र विद्यार्थीको मेहनतले यस्तो नतिजा सम्भव भएको बताइन्छ ।
धन्पुस उक्लियो नतिजा
बिगतका वर्षहरुमा मर्दिपारीका सामुदायिक विधालयले नतिजाको अग्रस्थान कायम गर्ने गरेका थिए । माछापुच्छ्रे, निस्पक्षे, महेन्द्र लगायतका विधालयले नतिजा आफ्नो कब्जामा राख्ने गरेका थिए । तर, यसवर्ष भने नतिजा मर्दी खोला तरेर धम्पुस उक्लिएको विश्लेषण गरिएको छ । धम्पुसको पृथ्वीनारायण माविका एक विब्यस सदस्यले भने, “लाहाचोकले धम्पुसलाई नतिजामा फरक नजरले हेर्ने गरेको थियो । यो पटक उलटफेर भएको छ । अब पक्कै यसले लाहाचोकलाई केही फरक अनुभूति गराउँ छ ।”
२०८१ को एसईई नतिजाले माछापुच्छ्रे गाउँपालिकामा शैक्षिक पुनर्सन्तुलनको संकेत दिएको छ । मर्दीपारीका विद्यालयहरू अब आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छन् भने धम्पुसले सामुदायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ ।