धम्पुस: कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा आज पुस ७ गते ‘रियल प्लान’ (REAL Plan) अन्तर्गत आधारभूत तह मूल्याङ्कन परीक्षा (Baseline Test) सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीहरूको वर्तमान शैक्षिक अवस्था पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त परीक्षामा कक्षा ३ देखि कक्षा ८ सम्मका ६८ विद्यार्थीमध्ये ५५ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक टेक प्रसाद भण्डारीका अनुसार कक्षा ३ , ४ र ५ का विद्यार्थीहरूले नेपाली र गणित विषयको परीक्षा दिएका थिए भने कक्षा ६ , ७ र ८ का विद्यार्थीहरूले अंग्रेजी , गणित , नेपाली र विज्ञान विषयको परीक्षा दिएका थिए । परीक्षा शान्त , अनुशासित र व्यवस्थित वातावरणमा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

‘रियल प्लान’ (Reinforcing Education Accountability and Learning Plan) नेपाल सरकारको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विकास साझेदार निकायहरूको सहयोगमा सञ्चालन भइरहेको शैक्षिक सुधार परियोजना हो । यस कार्यक्रमको कार्यान्वयन स्थानीय तह र विद्यालयमार्फत गरिँदै आएको छ ।

यस कार्यक्रमअन्तर्गत लिइने बेसलाइन टेस्टले विद्यार्थीहरूको वर्तमान ज्ञानस्तर , सिकाइ उपलब्धि तथा विषयगत कमजोरी पहिचान गर्न सहयोग पुर्याउँछ । सोही नतिजाका आधारमा शिक्षकहरूले विद्यार्थीको आवश्यकता अनुसार अवस्था पहिचान गरी रणनीतिक योजना निर्माण तथा कार्यान्वयन गरिने विद्यालयले जनाएको छ ।
त्यसैगरी , आगामी फागुन २५ र २६ गते इन्ड लाइन टेस्ट सञ्चालन गरिने जानकारी दिइएको छ ।

सहायक प्रधानाध्यापक भण्डारीले यस परीक्षणबाट प्राप्त नतिजाले शिक्षण–सिकाइ प्रक्रियालाई थप नतिजामुखी , उत्तरदायी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आजको परीक्षामा विद्यार्थीहरू उत्साहित देखिएको र विद्यालय प्रशासन , शिक्षक तथा अभिभावकहरूको सहकार्यमा परीक्षा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ ।

‘रियल प्लान’ कार्यक्रममार्फत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि भई विद्यार्थीहरूको समग्र सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।
