कोरोना महामारीका कारण मुलुक लकडाउनमा जाँदा धेरैको दैनिकी ठप्प भयो । तर यही लकडाउनले माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका अधिकारी परिवारलाई आफ्नै जन्मगाउँ फर्कायो र उनीहरूले जीवनमा नयाँ आयाम भेटाए ।
श्रीमान् अनन्त अधिकारी र श्रीमती धनकुमारी अधिकारी धम्पुसकै विद्यालयमा शिक्षक छन् । शिक्षण धम्पुसमा भएपनी बसाइ भने बजारमा थियो । दाजु प्रेम प्रसाद अधिकारी पनि पोखरा–२५, हेम्जामा व्यापार व्यवसाय गर्दै आएका थिए । करिब १७ वर्षअघि गाउँको घर छोडेर हेम्जामा बसोबास गर्न थालेको यो परिवारको धम्पुसमा करिब ३८ रोपनी जमिन वर्षौँदेखि अलपत्र थियो ।लकडाउनका कारण शहरको जीवन कठिन बन्दै जाँदा अधिकारी परिवार गाउँ फर्किन बाध्य भयो । तर गाउँ फर्कँदा पहिले धान फल्ने खेतबारी जंगलमा परिणत भइसकेका थिए । झाडी र बनजंगल हटाउन मात्रै करिब एक महिना लाग्यो ।“पहिले जंगल बनेको खेत देख्दा मन दुख्यो,” धनकुमारी अधिकारी भन्छिन्, “तर त्यसलाई सफा गरेपछि खाली छोड्नु हुँदैन भन्ने लाग्यो । केही न केही गर्नैपर्छ भन्ने सोच आयो ।”

खेतबारी सफा गरेपछि अधिकारी परिवारले अलैंची खेती सुरु गर्ने निर्णय गरेको थियो । सुरुवाती चरणमा २०–२५ रोपनी क्षेत्रमा अलैंची रोपिएको अलैंची खेतीले तेस्रो वर्षदेखि उत्पादन दिन थालेको धनकुमारीले बताईन् । तेस्रो वर्षमै ३७० किलो अलैंची उत्पादन भएको उनको अनुभव छ ।
तेस्रो वर्षपछि उत्पादन हरेक वर्ष बढ्दै गएको प्रेम प्रसाद अधिकारी बताउँछन् । उनले भने, “यो वर्ष मात्रै ५८८ केजी अलैंची उत्पादन भएको छ । बजार भाउ प्रतिकिलो २,२०० रुपैयाँ पायौँ । करिब १३ लाख रुपैयाँ बराबरको अलैंची बिक्री गयौं ।”
अहिले अलैंची खेती करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । अनन्त र धनकुमारी दुवै जना दिनको समयमा विद्यालयमा व्यस्त हुन्छ्न् । दाजु प्रेम प्रसाद भने नियमित कृषि कर्ममै हुन्छन् । अधिकारी परिवारले मात्रै अलैंची खेती हेर्न भ्याउदैनन् । हेरचाहका लागि एक जनालाई रोजगारी पनि दिएका छन् ।

धम्पुसको पाखोबारी अहिले अलैंचीका हरिया बिरुवाले हराभरा बनेको छ । बर्षौअं बाँझिएको जमिन आज ‘खोल्साको सुन’ भनेर चिनिने अलैंची उत्पादनको उदाहरणीय थलो बनेको छ ।
“विद्यालयमा पढाउने ज्ञानसँगै खेतबारीमा पसिना बगाउँदा जीवन अझ व्यवहारिक बनेको महसुस हुन्छ,” धनकुमारी अधिकारी भन्छिन्, “कृषि भनेको दुःख मात्रै होइन । सही योजना, धैर्य र मेहनत भए यसले राम्रो आम्दानी र आत्मसन्तुष्टि दिने रहेछ ।”
अलैंची खेतीसँगै अधिकारी परिवारले गाउँको पुरानो घरमा बाख्रा र गाई पालन तथा तरकारी खेती पनि गरिरहेको छ । साथै १२ घार मौरी पालन गरेर अतिरिक्त आम्दानीको स्रोतसमेत बनाएका छन् ।
“आफ्नै जन्मगाउँमा पुर्खाको माटोमा पसिना बगाउन पाउँदा गर्व सन्तुष्टि मिल्ने रहेछ,” प्रेम प्रसाद अधिकारीले भने, “लकडाउनले गाउँ फर्काएको थियो, तर त्यसपछी भने बजार जान मन लागेको छैन । ”
बाँझो पाखोबारीलाई हराभरा बनाउँदै अलैंची खेतीमार्फत आत्मनिर्भर बन्दै गएको अधिकारी परिवारको कथा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
