धम्पुसदेखि बकिङ्घम प्यालेससम्म: मेजर खुशीमान गुरुङ (एमभिओ)

धम्पुस: कास्कीको धम्पुस गाउँ, जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला आँखाकै अगाडि ठोक्किन्छन् । धम्पुसको एउटा मध्यम र राजनीतिक चेतना भएको परिवारमा वि.सं. २०१९ मा खुसीमान गुरुङको जन्म भएको थियो । उनी जन्मिँदा बुबा मनबहादुर गुरुङ गाउँका सक्रिय राजनीतिज्ञ र वडाध्यक्ष थिए, जो पछि उपप्रधानपञ्च र जिल्ला सभा सदस्यको जिम्मेवारीसम्म पुगे । धम्पुसको सामान्य पहाडी परिवेश र मध्यमवर्गीय पारिवारिक वातावरणमा हुर्किएका खुसीमानले भविष्यमा ब्रिटिस पल्टनको उच्च ओहोदा, शाही पदक र बीबीसीको डकुमेन्ट्रीमार्फत विश्वभर चिनिने अवसर पाउलान् भन्ने कुरा त्यसबेला कसैले सोचेको थिएन । ६ जना दिदीबहिनीका एक्ला भाइ खुसीमान परिवारमा सबैका प्यारा थिए । गाउँमा प्रशस्त जग्गाजमिन थियो । खान–लाउन अभाव थिएन ।

उनको प्राथमिक शिक्षा धम्पुसकै अमर ज्योति विद्यालयमा भयो । त्यसपछि पृथ्वीनारायण निमावि र नौडाँडाको माछापुच्छ्रे मावि हुँदै पोखराको राष्ट्रिय व्यावसायिक माविबाट उनले विद्यालय शिक्षा पूरा गरे । उनी पढाइमा मध्यम तर खेलकुदमा ‘अब्बल’ थिए । तत्कालीन वीरेन्द्र सिल्डमा भलिबलको क्षेत्रीय खेलाडीका रूपमा उनको नाम चम्किसकेको थियो ।

देशको राजनीतिक माहोल अस्थिर थियो । पञ्चायतविरुद्धको आन्दोलनले क्याम्पसहरू ठप्प हुन्थे । “गुरुङको छोरो भर्ती हुनुपर्छ” भन्ने सामाजिक मनोविज्ञान थियो ।समयको त्यो एउटा मोड, जहाँ धम्पुसको शीतल हावा र पोखराको उमङ्गका बीच खुसीमानको जीवनले नयाँ बाटो रोज्दै थियो । वि.सं. २०३८ (सन् १९८१) को जेठ महिना । कास्कीका पहाडहरूमा लालीगुराँस ओइलाएर हरियाली पलाउँदै थियो, खुसीमानको मनमा पनि भविष्यको एउटा नयाँ अङ्कुर पलायो । उनलाई घरको सुखसयलले मात्र बाँध्न सकेन । मुलुकमा पञ्चायतविरुद्धको आन्दोलनले शैक्षिक क्षेत्रमा एउटा अन्योलको कुहिरो लागेको बेला, खुसीमानले आफ्ना बलिया पाखुरा र अटल आत्मविश्वासलाई ‘ब्रिटिस भर्ती’को तराजुमा जोख्ने निधो गरे ।

गल्लाको पहिलो नजरमै छनोट भए खुसीमान

पोखराको ब्रिटिस क्याम्प, जहाँ सयौँ गुरुङ–मगरका छोराहरू आफ्नो भाग्य र भविष्यको परीक्षा दिन लामबद्ध हुन्थे । खुसीमान जब गल्ला छनोटको प्रारम्भिक मैदानमा उभिए, उनको अग्लो कद र खेलकुदले निखारेको शरीर देख्नेबित्तिकै गल्लावालाको नजर उनीमै अडियो । मानौँ, ती आँखाहरूले एउटा काँचो ढुङ्गामा हिराको चमक देखिसकेको थियो ।

पोखराको रापिलो घाममा दौडँदा होस् वा डोरीमा झुन्डिएर शक्ति प्रदर्शन गर्दा, खुसीमानको मनमा केवल लक्ष्य भेट्ने हुटहुटी र पौरखको चित्र थियो । शारीरिक तन्दुरुस्तीको परीक्षामा उनको लोभलाग्दो प्रदर्शन देखेपछि ब्रिटिस अधिकृतहरूले उनलाई ‘पक्का सिपाही’का रूपमा छान्न कत्ति पनि ढिला गरेनन् । पहिलो प्रयासमै सफलताको मोहर त लाग्यो, तर घरमा खुसीसँगै एउटा उदासीनता पनि छायो । कुलको एक्लो उत्तराधिकारी, ६ जना दिदीबहिनीको एउटै सहारा । आमा हीरा कुमारी र बुबा मनबहादुरका लागि छोराको यो सफलता “निल्नु न ओकल्नु”जस्तै भयो । “लाहुरे” हुनुको गौरव त थियो, तर एक मात्र छोरो सात समुद्रपारि जाँदाको त्यो विछोडको संवेदनाले घरका भित्ताहरू पनि भारी भएका थिए ।

खुसीमानले आफ्ना आमाबुबाका आँखामा ढल्बलाएका आँसु र मनमा गुम्सिएका डरलाई आफ्नै छातीभित्र दबाए । उनलाई थाहा थियो— यो यात्रा केवल एउटा जागिरको खोजी होइन । आफ्नो वंशको नामलाई विश्व इतिहासको पानामा ‘गोर्खा’ भनेर लेखाउने एउटा ऐतिहासिक अवसर हो । ३७४ जना सहयात्रीसँगै जब उनी हङकङका लागि उडे, १० महिनाको तालिमले एउटा काँचो माटोलाई इस्पातजस्तो बलियो ‘गोर्खा सिपाही’मा रूपान्तरण गरिदियो ।

बीबीसीको त्यो ऐतिहासिक डकुमेन्ट्री : ‘द वर्ल्ड अबाउट अस’ (१९८४)

खुसीमानको जीवनमा एउटा दुर्लभ अवसर आयो । सन् १९८४ मा विश्वप्रसिद्ध सञ्चार संस्था बीबीसीले उनलाई आफ्नो डकुमेन्ट्रीको मुख्य पात्रका रूपमा छान्यो । ‘द वर्ल्ड अबाउट अस’ शीर्षकको उक्त डकुमेन्ट्रीमा एक गोर्खाली सिपाहीको सिङ्गो जीवन र सङ्घर्षलाई कैद गरिएको छ । डकुमेन्ट्रीमा गोर्खा रेजिमेन्टमा भर्ती हुन गर्नुपर्ने कडा मेहनत, छनोटको कठिन प्रक्रिया देखाइएको छ । साथै भर्ती भइसकेपछि एउटा गोर्खा पल्टनको लाहुरे कसरी गाउँ फर्कन्छ भन्ने दृश्यमा खुसीमानको भूमिका छ । उनले एयरपोर्टबाट गाउँसम्मको यात्रा गर्दा देखाउने त्यो ‘लाहुरे ठाँट’, फर्किएपछि समाजले उनलाई हेर्ने दृष्टिकोणलाई अत्यन्तै कलात्मक रूपमा देखाइएको छ ।

यो डकुमेन्ट्री रिलिज भएपछि खुसीमानको चर्चा यति चुलियो कि पल्टनभित्र साथीभाइ माझ उनी ‘फिल्म स्टार’को नामले चिनिन थाले । डकुमेन्ट्रीमा उनले कसरी एउटा सामान्य गाउँले ठिटोबाट गोर्खा रेजिमेन्टको गर्विलो सिपाहीसम्मको यात्रा तय गर्छ भन्ने आम कथा ऐतिहासिक दस्तावेज बनेको छ । पोखरास्थित गोर्खा म्युजियममा यो डकुमेन्ट्री ‘द वर्ल्ड अबाउट अस’ आज पनि प्रदर्शनमा राखिएको छ ।

मञ्जु र खुसीमान : प्रेम पत्रदेखि विवाहको मण्डपसम्म

खुसीमानको जीवनमा जति साहस छ, उति नै प्रेमको मिठास पनि । मञ्जु र खुसीमान मामा–फुपूका छोराछोरी । गुरुङ समुदायमा “फुपुकी छोरीमाथि मामाको छोराको हक लाग्छ” भन्ने पुरानो मान्यता थियो । उनीहरू जन्मँदै हजुरबुबा–हजुरआमाहरूले उनीहरूको विवाह गर्ने ‘मौखिक सहमति’ गरेका थिए रे ।

मञ्जुका बुबा अर्थात् खुसीमानका ससुरा सेवानिवृत्त ब्रिटिस लाहुरे थिए । ९ र १० कक्षा पढ्न पोखरा झरेका खुसीमानलाई उनकी फुपू (मञ्जुकी आमा) ले अन्त कतै डेरा बस्न दिनुभएन । आफ्नै भतिजो भएकाले फुपूले उनलाई आफ्नै घरमा राख्नुभयो । त्यतिबेला खुसीमान १६ र मञ्जु १४ वर्षका थिए। एउटै घरमा बस्ने र एउटै कक्षामा पढ्ने भए पनि उनीहरूको बोलचाल भने निकै औपचारिक र मर्यादित हुन्थ्यो ।

मञ्जु विगत सम्झिँदै भन्छिन्, “हामी सँगै बस्ने भए पनि खुलेर कुरा हुँदैनथ्यो । एउटै घरमा भए पनि हाम्रो सम्बन्धमा अदृश्य पर्खाल थियो । न खुलेर कुरा हुन्थ्यो, न आँखा जुधाउने साहस । कहिलेकाहीँ घरको काम गर्दा अचानक ठोकिन पुग्यौँ भने मात्र औपचारिक संवाद हुन्थ्यो । एसएलसीको परीक्षा आएपछि भने हामी सँगै तयारी गर्नुपर्ने भएकाले नजिकिएका थियौँ ।”

एसएलसी सकेर खुसीमान पल्टनका लागि हङकङ हानिए । आँखाबाट टाढा भएपछि उनीहरूको मन झन् नजिक भएको थियो । त्यतिबेला अहिले जस्तो सञ्चारको सुविधा थिएन, त्यसैले उनीहरूको प्रेमलाई जोड्ने माध्यम बन्यो— नीलो खामभित्रका ती ‘प्रेम–पत्र’हरू । हङकङका ब्यारेकदेखि पोखराका गल्लीसम्म एउटा पत्र आइपुग्न महिना दिन लाग्ने गरेको खुसीमान सम्झन्छन् ।

अन्ततः, सन् १९८४ को डिसेम्बर ९ मा उनीहरूको यो पत्र–संवादले दाम्पत्यको रूप लियो । खुसीमान ‘लान्स कर्पोरल’मा बढुवा भएर ६ महिने बिदामा गाउँ आउँदा धम्पुसको आँगनमा पञ्चैबाजा घन्कियो । बुबा मनबहादुरको राजनीतिक कदका कारण विवाहमा तत्कालीन कानुन मन्त्री राधेश्याम कमार लगायत सत्ता र प्रशासनका दिग्गजहरूको जमघटले माहोल उत्सवमय बनेको थियो ।

श्रीमान खुसीमानका साथमा मन्जु

सिपाहीदेखि मेजरसम्म खुसीमान

पल्टनभित्र खुसीमानको यात्रा “अद्वितीय” रह्यो । सिपाही भएको ३ वर्षमै लान्स कर्पोरल हुनु आफैँमा दुर्लभ अवसर थियो । उनी रोकिने स्वभावका थिएनन् । ड्रिल इन्स्ट्रक्टर, स्किल एट आर्म्स र सेक्सन ब्याटल कोर्समा ‘बेस्ट स्टुडेन्ट’ र ‘डिस्टिङ्सन’ हासिल गर्दै उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारे ।

पदोन्नतिको सिँढी चढ्दै उनी कर्पोरल, सार्जेन्ट र कलर सार्जेन्ट भए । तर चमत्कार तब भयो, जब उनी कलर सार्जेन्टबाट सिधै लेफ्टिनेन्टमा बढुवा भए । गोर्खा रेजिमेन्टमा दुई तह फड्को मार्नु (Skipping Ranks) असाध्यै दुर्लभ अवसर हो । त्यसको ४ वर्षपछि उनी क्याप्टेन भए र सन् २००८ मा २७ वर्षको सेवा पछि उनी ‘गोर्खा मेजर’को उच्च पदमा पुगे ।


हेलमण्डको त्यो दर्दनाक बुबी ट्र्याप

समय सन् २०१० को थियो । अफगानिस्तानको क्षितिजमा बारुदको गन्ध र अनिश्चितताको तुवाँलो मडारिरहेको थियो । मेजर खुसीमान गुरुङ, जसको काँधमा ७५० जना गोर्खाली छोराहरूको जीवन र भरोसाको भारी थियो, हेलमण्ड प्रान्तको त्यो तप्त मरुभूमिमा शान्तिको दियो बाल्न उभिएका थिए । तर नियतिले उनलाई यस्तो परीक्षामा होम्दै थियो, जसको सम्झनाले आज पनि उनका आँखाहरू अगेनाको कोइला झैँ राता र रसिला बन्छन् ।

अफगानिस्तान पुगेको मात्र दुई दिन भएको थियो । नयाँ जिम्मेवारीको उत्साह र कर्तव्यबीच एउटा यस्तो ‘बुबी ट्र्याप’ (Booby Trap) बिछ्याइएको थियो, जसले खुसीमानको सैनिक जीवनकै सबैभन्दा ठूलो घाउ दियो । पेट्रोलिङमा निस्किएको टोली जब तालिवानी विद्रोहीको एम्बुसमा पर्‍यो, हेलमण्डको त्यो धुलौटे माटो क्षणभरमै गोर्खालीहरूको रगतले भिज्यो ।

१५ जना तन्नेरी सिपाहीहरू, जो भर्खरै सपनाका गुँड बुन्दै थिए, तिनीहरूले त्यहीँ वीरगति प्राप्त गरे । ४५ जना घाइतेहरूको चित्कारले मरुभूमिको सन्नाटा चिर्यो । एउटा कमाण्डरका लागि योभन्दा ठूलो बज्रपात अरू के हुन सक्थ्यो ? आफ्नो पल्टनलाई सम्हाल्दै र हतोत्साहित भएका बाँकी सिपाहीहरूको मनोविज्ञानलाई पुनर्जीवन दिँदै खुसीमानले त्यो शोकको घडीमा साहसको बाँध बाँध्नुपर्‍यो ।

घटनापछि घाइतेहरूलाई बास्टियन सैनिक अस्पताल पुर्‍याइयो । खुसीमान जब आफ्ना घाइते ‘भाइ’हरूलाई भेट्न अस्पतालको कोठामा छिरे, त्यहाँको दृश्य कुनै नरकको बीभत्स खण्डभन्दा कम थिएन । कसैको हात थिएन, कसैको खुट्टा । कतिपय अनुहार चिन्नै नसकिने गरी डढेका थिए ।

त्यहीँ एउटा बेडमा अचेत अवस्थामा थिए— युवा कर्पोरल हरि बुढा मगर । डाक्टरले हरिलाई होसमा ल्याउनुअघि खुसीमानले उनको हात मुठ्ठीमा दह्रो गरी समाते । जब हरिले बिस्तारै आफ्ना गह्रौँ आँखाहरू खोले, उनको पहिलो नजर आफ्नै मेजर सा’बको अनुहारमा पर्‍यो ।

अस्पतालको त्यो सेतो कोठामा सन्नाटा छचल्कियो । आफ्ना दुवै खुट्टा गुमेको थाहा पाएका हरिका आँखाबाट आँसुको भेल बग्यो । तर ती आँसु आफ्नो अपाङ्गताका लागि थिएनन्, ती त आफ्नो कर्तव्य पूरा गर्ने क्रममा ट्यापमा परेकोमा महसुस गरिएको एउटा गहिरो आत्मग्लानि थियो । हरिले कामिरहेको स्वरमा बिस्तारै भने— “सरी साब…”

त्यो ‘सरी साब’ शब्दले खुसीमानको मुटुमा हजारौँ सियोले एकैपटक रोपे झैँ भयो । एउटा सिपाही, जसले देशका लागि आफ्ना दुवै खुट्टा दान गरिदियो, उसले उल्टै आफ्नो कमाण्डरलाई माफी माग्दै थियो ! त्यो पल खुसीमान र उनीसँगै रहेका ब्रिटिस कमान्डिङ अफिसरका आँखाबाट आँसुका ढिक्का रोकिन सकेनन् ।

अहिले खुसीमान सम्झिन्छन्— त्यो दिन हेलमण्डमा धेरैका सपनाहरू पनि छियाछिया भएका थिए । तर तिनै हरि बुढा मगरले पछि कृत्रिम खुट्टाको सहारामा सगरमाथाको शिखर चुमेर विश्वलाई देखाए ।

खुसीमानका लागि अफगानिस्तानको त्यो घटना केवल एउटा युद्धको संस्मरण होइन, रगतले लेखिएको एउटा मानवीय दस्तावेज हो, जसले उनलाई जीवनको मूल्य र सिपाहीको मर्यादाको सबैभन्दा ठूलो पाठ सिकायो ।


शाही सम्मानको शिखर : एमभीओ (MVO)

खुसीमानको ३५ वर्ष लामो सैन्य यात्राको सबैभन्दा गौरवशाली र स्वर्णिम अध्याय थियो— एमभीओ (Member of the Royal Victorian Order) । यो केवल एउटा धातुको पदक मात्र नभएर गोर्खाली सिपाहीको इमानदारिता र पौरखमाथि ब्रिटिस शाही परिवारले लगाएको विश्वासको मोहर थियो । बकिङ्घम प्यालेसको भित्री घेरामा रहेर शाही परिवारको अङ्गरक्षकका रूपमा सेवा गर्ने र ‘क्विन्स गोर्खा अफिसर’ जस्तो विशिष्ट भूमिका निभाउने थोरै ‘भाग्यमानी’ क्याप्टेनहरूले मात्र यो दुर्लभ सम्मान पाउँछन् । खुसीमानका लागि यो पदक उनको वर्षौँको कठोर सङ्घर्ष, त्याग र उत्कृष्ट कमाण्डको एउटा यस्तो प्रतिफल थियो । त्यो दिन धम्पुसको एक मध्यम परिवारमा जनिएको खुसीमान मेजर खुसीमान (एमभिओ) भए ।

Major Khusiman Gurung (MVO) in the traditional Full Dress of the Royal Gurkha Rifles.

जसले कास्कीको धम्पुस र वेल्सको ब्रेकनलाई जोडे

सन् २०१५ मा, ३५ वर्षे सैन्य जीवनबाट अवकाश लिएपछि धेरैलाई लागेको थियो— खुसीमान अब बेलायतको विलासी जीवनमै रमाउनेछन् । तर उनको मन सधैँ धम्पुसकै माटोका लागि धड्किरह्यो । उनले आफ्नो अवकाशपछिको समयलाई विश्राम होइन, समाजसेवाको एउटा नयाँ आयाममा परिणत गरे ।

खुसीमानकै परिकल्पना र पहलमा कास्कीको धम्पुस र बेलायतको ब्रेकन टाउनबीच ऐतिहासिक ‘भगिनी सम्बन्ध’ (Twinning) गाँसियो । यो मितेरीसँगै धम्पुस नेपालकै पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘भगिनी गाउँ’ बन्यो । हालै, सन् २०२६ फेब्रुअरी १० मा धम्पुसको आँगनमा खुसीमान र मञ्जुले विदेशी पाहुनाहरूसँगै यस सम्बन्धको सातौँ वार्षिकोत्सव मनाएका छन् । दुई देशबीचको यो सांस्कृतिक सेतु अझ बलियो र कसिलो बनेको छ ।

विवाहको १२ वर्षसम्म प्रनयमानको प्रतीक्षा

विवाहको लगनगाँठो कसिएको बाह्र वर्षसम्म मञ्जु र खुसीमानका जीवनमा एउटा मधुरो रिक्तता थियो । धम्पुसको पुर्ख्यौली घरमा सानो पैतालाको आवाज सुन्न गुरुङ परिवार प्रतीक्षामा थियो । नाति झुल्कियोस् र वंश अगाडि बढोस् भनेर बुबा मनबहादुरले गाउँमा पुराण नै लगाएका थिए । अन्ततः १२ वर्ष लामो प्रतीक्षापछि छोरा प्रनयमानको जन्म भयो । खुसीमानलाई मात्रै नभएर समग्र परिवारजनमा प्रनयमानले खुसी भरिदिए । खुसीमान सम्झन्छन्, “त्यो क्षण जीवनका सबै कठिन युद्धहरू जितेभन्दा ठूलो विजय जस्तो थियो ।” त्यसको केही वर्षपछि छोरी याचनाको जन्म भयो ।

परिवारका साथमा खुसीमान

नेपाली भिलेज युके : एउटा ड्रीम प्रोजेक्ट

“जीवन त एउटा नदी हो, जो बग्न छाड्यो भने धमिलो हुन्छ । जीवन चुनौती हो, हिम्मत गरिएन भने जहाँकोतहिँ भइन्छ ।” यही जीवनदर्शनले सेवा निवृत्त जीवन पनि चलायमान भएको खुसीमान बताउँछन् । पछिल्लो समय खुसीमानको परिवार ‘नेपाली भिलेज युके’को ड्रीम प्रोजेक्टमा काम गर्दै छ । नेपाली भिलेज युके एउटा परियोजना मात्र होइन, बरु सात समुद्रपारि नेपाली पहिचानलाई जीवन्त राख्ने एउटा महत्त्वाकाङ्क्षी सांस्कृतिक अभियान भएको उनले बताए ।

खुसीमानले भने, “बेलायतको आधुनिक र व्यस्त जीवनभित्र नेपाली कला, वास्तुकला र मौलिक संस्कारको एउटा सानो संसार बसाल्ने यो परिकल्पनाले एउटा गहिरो अर्थ बोकेको छ । यसको मुख्य ध्येय पराई भूमिमा हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो भाषा, सभ्यता र पहिचानको जरोसँग जोडी राख्नु हो । विदेशी माटोमा आफ्नै मातृभूमिको सुगन्ध महसुस गर्न सकिने एउटा यस्तो साझा थलो, जहाँ पुग्दा जोकोही नेपालीले आफ्नै आँगनमा पुगेको आभास गरोस् ।”

धम्पुस र ब्रेकन टाउनबीचको मितेरी साइनोको सातौँ वार्षिकोत्सव मनाउने क्रममा धम्पुसमा पंक्तिकारको भेट खुसीमान र मञ्जुको यो जोडीसँग भयो । ३५ वर्ष ब्रिटिस पल्टनको कडा अनुशासन र शाही दरबारको विशिष्ट घेरामा बिताएका खुसीमानमा अलिकति पनि ‘अहं’को गन्ध थिएन । बरु उनको स्वभावमा एउटा पहाडी झरनाजस्तै सरलता र फराकिलोपन झल्किन्थ्यो । उता मञ्जुको शान्त र शालीन व्यक्तित्वले खुसीमानको ऊर्जालाई अझ पूर्ण बनाएको देखिन्थ्यो ।

Loading...