काठमाडौँ: लामो समयदेखि नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) रोजगारीमा छिट्टै नयाँ अवसरहरू सिर्जना हुने देखिएको छ । नेपाल र इजरायल सरकारबीच भएको सरकारी सम्झौता अनुसार माग भएका कामदारमध्ये आधाभन्दा बढी कोटा अझै खाली रहेकाले नयाँ प्रक्रिया सुरु हुने सम्भावना छ ।
इजरायल रोजगारीको इतिहास हेर्ने हो भने सन् २००७ देखि २००९ सम्म निजी म्यानपावर व्यवसायीमार्फत नेपालीहरू केयरगिभरमा जाने गर्थे । तर, बिचौलियाको चलखेल र अत्यधिक शुल्क असुलीका कारण सन् २००९ अप्रिलदेखि इजरायलले यो प्रक्रिया बन्द गरेको थियो । कामदार ठगिने क्रम पूर्ण रूपमा रोक्न सन् २०२० मा दुई देशबीच सरकारी संयन्त्र मार्फत मात्रै कामदार पठाउने ऐतिहासिक श्रम सम्झौता भयो ।
यसै सम्झौतामा टेकेर सन् २०२२ को अगस्टदेखि पहिलो ब्याच इजरायल जान सुरु गरेको थियो । त्यसपछि सन् २०२४ को अगस्टमा गोलाप्रथामार्फत २,११२ जना छानिएर सन् २०२५ को सुरुवाती महिनाहरूमा प्रस्थान गरिसकेका छन् । हाल प्रक्रियामा रहेको तेस्रो ब्याचका लागि वि.सं. २०८३ जेठ १७ गतेदेखि असार ७ गतेसम्म अनलाइन आवेदन खुला गरिएको थियो ।
हालको माग र उत्तीर्ण तथ्याङ्क
पछिल्लो विज्ञापनअनुसार इजरायलले कुल २,३०० नेपाली कामदारको माग गरेको छ । यसमध्ये ६० प्रतिशत अर्थात् १ हजार ३८० जना महिला र ४० प्रतिशत अर्थात् ९२० जना पुरुषका लागि कोटा निर्धारण गरिएको छ । तर, भाषा परीक्षामा सहभागी १५ हजार ६२६ जनामध्ये जम्मा १ हजार २३१ जना मात्र उत्तीर्ण भएका छन् ।
यस रोजगारीका लागि उम्मेदवारको न्यूनतम १.५ मिटर उचाइ र ४५ केजी तौल अनिवार्य तोकिएको छ । साथै, कक्षा १० उत्तीर्ण गरी १५ महिने अध्ययन (अहेव वा अनमी) पूरा गरेको वा १२ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट तीन महिने केयरगिभर तालिम लिएको हुनुपर्ने शैक्षिक मापदण्ड छ ।
अहिलेको प्रक्रियामा के भइरहेको छ?
वैदेशिक रोजगार विभागले पास भएका १ हजार २३१ जनाको आवेदन र फाइल परीक्षणको काम द्रुत गतिमा अगाडि बढाएको छ । असार ७ गतेसम्म २ हजार ६ जनाले आवेदन दिएको भए पनि मापदण्ड नपुगेका करिब १,४०० भन्दा बढी फाइलहरू परेकाले स्क्रिनिङमा केही समय लागेको विभागले जनाएको छ । यद्यपि, योग्य देखिएका करिब १,२०० युवाको नाम जतिसक्दो चाँडो इजरायल पठाउने तयारी भइरहेको छ । सीमित कर्मचारीका बाबजुद विभागले अन्य कामसहित यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जिटुजि इजरायल शाखा निर्देशकले जानकारी दिए ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) का लागि माग गरिएकामध्ये करिब १,१०० कोटा अझै खाली रहेकाले आगामी एक महिनाभित्रै नयाँ आवेदन वा प्रक्रिया खुल्ने प्रबल सम्भावना देखिएको छ ।
अपुग कोटाका लागि एक महिनाभित्रै नयाँ प्रक्रिया खुल्ने सक्ने
इजरायल सरकारले तत्काल २,३०० कामदारको माग गरेको भए पनि नेपालबाट जम्मा १,२०० को हाराहारीमा मात्र योग्य उम्मेदवार तयार भएकाले आधाभन्दा बढी कोटा खाली हुन पुगेको हो । वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार, हाल भाषा परीक्षा र अन्य मापदण्ड पार गरेका उम्मेदवारहरूको नाम इजरायल पठाइसकेपछि अपुग कोटाका सम्बन्धमा नयाँ निर्णय लिइनेछ ।
हाल विभागमा भइरहेको फाइल परीक्षण र योग्य उम्मेदवारको नाम सिफारिस गर्ने काम आगामी केही साताभित्रै सम्पन्न हुनेछ । त्यसलगत्तै, इजरायलले आफ्नो बाँकी माग पूरा गर्न थप कामदार माग्ने निश्चित रहेको र सरकारले पनि सोहीअनुसार नयाँ प्रक्रिया अगाडि बढाउनुपर्ने बाध्यता रहेको सरोकारवालाहरू बताउँछन् ।
यस अवस्थाले इजरायल जान चाहने तर विभिन्न कारणले वञ्चित भएका युवाहरूमा नयाँ आशा जगाएको छ । यसअघिको परीक्षामा प्राविधिक गडबडीले परीक्षा बिग्रिएका, सामान्य गल्तीका कारण अनुत्तीर्ण भएका वा आवेदन दिनै छुटेका सम्पूर्ण युवाहरूका लागि यो एउटा महत्त्वपूर्ण अवसर बन्न सक्नेछ ।