बझाङको छविसपाथिभेरा गाउँपालिकाले खरिद गरेको गाडीमा करिब १५ लाख घोटाला भएको सार्वजनिक भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा खरिद गरेको एक थान सवारी साधनको मूल्य वास्तविक मूल्य भन्दा १५ लाख बढी रहेको सार्वजनिक भएको छ ।
तत्कालीन गाउँपालिका अध्यक्ष अक्कल धामीले प्रयोग गर्ने गरी किसान ट्रेडिङ प्राली मार्फत खरिद गरिएको (सुजुकी डी म्याक्स) गाडीको अहिलेको बजार मूल्य करिब ६० लाख ४० हजार छ । तर, आजभन्दा ३ वर्ष अगाडी पालिकाले उक्त गाडी ७४ लाख ८० हजार ७ सय ८६ मा खरिद गरेको छ ।
इसुजु सुदूरपश्चिम प्रदेशका एक प्रतिनिधिले उक्त गाडी ६० लाख ४० हजारसम्म अहिले पनि बिक्रीमा रहेको बताउँछन् । गाडी खरिद गरेको मूल्य र अहिलेको बजार मूल्यमा १४ लाख ४० हजारको अन्तर छ । अर्थात्, छविसपाथिभेरा गाउँपालिकाले उक्त गाडी १४ लाख ४० हजार बढी मूल्यमा खरिद गरेको छ ।
गाडी खरिद गर्दा टेन्डर प्रक्रियामा पनि बोलपत्र दाताहरूबिच मिलेमतोमा दाखिला गरेको भन्दै महालेखा परिक्षकको प्रतिवेदन २०७७ ले कैफियत देखाएको छ । बिक्रेताहरूबिच प्रतिस्पर्धा नगराई मिलेमतोमा सवारी साधन खरिद गरिएको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७७ ले गाउँपालिकाको नाममा ७४ लाख ८० हजार ७ सय ८६ अनियमित देखाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०७७ ले बोलपत्र दाताहरू बिच आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको भन्दै कैफियत देखाएको छ । गाउँपालिकाको लागि आर्थिक वर्ष २०७६/०७७ मा एक थान सवारीसाधन (सुजुकी डी म्याक्स कार) खरिदको लागि मु.अ. कर समेत रु ७५ लाख को लागत अनुमान स्वीकृत गरी ठेक्का व्यवस्थाको लागि बोलपत्रको सूचना प्रकाशन गरेको थियो । ‘उपरोक्त बमोजिमको यस ठेक्का व्यवस्थाको मूल्याङ्कन गर्दा दर्ता भएका बोल पत्र मध्ये २ वटा मात्र दर्ता हुनु साथै दर्ता भएको मध्ये पनि एउटाले करिब लागत अनुमान बराबर अङ्क कबोल गर्नु अर्कोले आवश्यक डकुमेन्ट समेत नराखी बोल पत्र दर्ता गराएको देखिनुले आपूर्तिकर्ता बिच एक आपसमा सहमति नभई स्वतन्त्र प्रतिस्पर्धा भई कम भन्दा कम मूल्यमा ठेक्का लागेको हो भन्ने आधार देखिँदैन’ प्रतिवेदनमा भनिएको छ ।