वैशाखमा मुस्ताङको मौसम मस्त खुलेको हुन्छ । साँझपख हल्का पानी पर्ने हुनाले मुस्ताङको आकाश धुलो धुँवामुक्त हुन्छ । फुल्दै गरेका स्याउ, धुपी सल्लाका रुखहरू, मरुभूमि झैँ ठुला बालुवाका टारहरू स्पष्ट देखिन्छन् । अलि पर सेताम्मे हिउँले ढाकिएका हिमालहरू देखिन्छन् । बिहान ५ बजेदेखि नै हिमालहरू निकै खुलेको देखिन्छ ।
दिउँसो १२ बजेपछि भने बिस्तारै हावा चल्न थाल्छ । यो मौसममा मुक्तिनाथ भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढेको हुन्छ । जाडो सिजन सकिएकाले मुक्तिनाथ भ्रमणका लागि यो उपयुक्त सिजन मानिन्छ । मुक्तिनाथसम्म नै गाडी पुग्ने भएकाले पनि यो वर्ष पर्यटकको चाप बढी छ । मुक्तिनाथ जानेमा भारतीय पर्यटकहरूको सङ्ख्या धेरै छ ।
म्याग्दीको बेनीदेखि मुस्ताङको कागबेनीसम्म ठाउँ ठाउँमा सडक मर्मत हुँदै छ । कागबेनीदेखि मुक्तिनाथसम्मको सडक भने कालोपत्रे गरिएको छ ।
यी तस्बिरहरू म्याग्दीको सदरमुकाम बेनी, मुक्तिनाथ तथा उपल्लो मुस्ताङ जाँदा बाटोमा खिचिएका हुन् । मुस्ताङको मौसम अहिले निकै सफा छ ।