सेतीमा शेरबहादुरको अवैध क्रसर, न अनुमति, न राजस्व

Masta Gaupalika

बझाङः छविसपाथिभेरा गाउँपालिका वडानं. १ स्थित सेती नदिको किनारमा एक ठेकेदारले अवैध क्रसर सञ्चालन गरेका छन् । सुर्मा सरोवर निर्माण सेवा कम्पनीका सञ्चालक शेरबहादुर बोहराले जालेबगरस्थित सेती किनार छेउमा अवैध क्रसर उद्योग स्थापना गरेका छन् । गिट्टी तथा बालुवा उत्खनन गर्नका लागि ठेकेदार बोहराले जालेबगरमा विगत २ वर्षदेखि अवैध दोहन गर्दै आइरहेका छन् । बोहराले सञ्चालन गरेको उक्त क्रसर दर्ता छैन । छविसपाथिभेरा गाउँपालिकाले गिट्टी बालुवा उत्खनन गर्ने सम्बन्धमा ‘रित’ नपुगेको अनुमति पत्र दिएको छ । जिल्लाका विभिन्न ठाउँमा बोहराले दैनिक गिट्टी तथा बालुवा ओसारपसार गर्दै आइरहेका छन् । जिल्लामा निर्माणाधीन सडक, पुल तथा निजि घरमा समेत जालेबगरको ढुंगा, गिट्टी र बालुवा प्रयोग हुने गरेको छ ।

कानुनविपरीत क्रसर सञ्चालन
ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार तथा बिक्री वितरण कार्यविधि अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्न पाइने छैन ।  क्रसर उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ सिधै नदी वा वन क्षेत्रबाट उत्खनन वा सङ्कलन गरी प्रशोधन गर्न नपाउने उल्लेख छ । कार्यविधि अनुसार गाउँपालिका बोहरालाई साे क्षेत्रमा क्रसर राख्ने अनुमति दिन मिल्ले देखिँदैन । नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाई, चौडाइ तथा गहिराई सहितको चार किल्ला, उत्खनन गर्ने अवधि र समय, प्रयोग गरिने साधन र गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर लगायतका विवरण खुल्ने सूचना पाटी सम्बन्धित उत्खनन वा सङ्कलन स्थलमा राख्ने व्यवस्था अनिवार्य रूपमा मिलाउनु पर्दछ । साथै, नदीजन्य पदार्थको ठेक्का लिने व्यवसायी अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनु पर्नेछ ।

(गाउँपालिकाले क्रसर राख्न दिएको अनुमती पत्र)

तिर्दैनन् कर शेरबहादुर 
क्रसर उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति गर्दा लाग्ने बिक्री मूल्य वा शुल्क गाउँपालिका वा नगरपालिकालाई बुझाएपछि मात्र त्यस्तो कच्चा पदार्थ आपूर्ति गर्न पाइनेछ । बोहराले हालसम्म गाउँपालिकालाई कुनै शुल्क तिरेका छैनन् । बोहराले मासिक ९० हजार रुपैयाँ गाउँपालिकालाई बुझाउने भने पनि हालसम्म उक्त शुल्क नबुझाएको गाउँपालिकाका एक कर्मचारीले बताए । कानुनको ठाडै उलङ्घन गर्दै बोहराले जयपृथ्वी राजमार्गकै छेउमा क्रसर उद्योग सञ्चालन गरेका छन् । सेती नदीको धारसमेत परिवर्तन गरेर ढुङ्गा, गिट्टी, बालुवा झिक्ने गरेको सोही वडाका वडाध्यक्ष करनजंग सिंहले बताए ।

ठाउँ ठाउँमा गिट्टी, बालुवा ओसारपसार 
वडाध्यक्ष सिंहले जाले बगर क्षेत्रको गिट्टी, बालुवा दिनदाहाडै तस्करी हुन थालेपछि तालुक निकायमा हार गुहार गरे । गाउँपालिका अध्यक्ष वसन्त चलाउनेलाई जानकारी दिए । गाउँ कार्यपालिका बैठकमा कुरा उठाए । तर, कुनै सुनुवाइ भएन । त्यसपछि गिट्टी, बालुवा अवैध रूपमा तस्करी भएकोले रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको उजुरी लिएर गए । ‘उजुरी दिएको करिब ३ साता भइसक्यो तर टिप्परले गिट्टी बालुवा बोकेको बोक्यै छ,’ वडाध्यक्ष सिंहले गुनासो गरे, ‘सिडिओबाट पनि कुनै सुनुवाइ भएको छैन । कसैले केही हल्लाउन सक्दैन भनेर ठेकेदारले धम्की दिँदै हिँडेको छ ।’

(जालेबगरमा माटो लोड गर्दै गरेको टिप्पर)

ठेकेदार शेरबहादुर बोहराले छविसपाथिभेरा गाउँपालिकाले अनुमति दिएको हुनाले क्रसर राखेको बताएका छन् । क्रसर राख्ने मापदण्ड नपुग्ने बारेमा आफू जानकार रहेको तर यहाँको चलन यस्तै भएकोले आफूले पनि त्यस्तै गरेको बताउँछन् । ‘गाउँपालिकाले मलाई अनुमति दिएको छ । क्रसर राख्ने मापदण्ड पुग्दैन । कसले मापदण्ड पालना गरेको छ र?, उनले प्रतिप्रश्न गरे, ‘तपाईँ मेरो क्रसर मात्र देख्नु भयो? यहाँ अरूले केके गरेका छन्? यस्तै हो यहाँ ।’

Loading...