पोखरा – आसन्न एसईई (SEE – माध्यमिक शिक्षा परीक्षा) परीक्षालाई मध्यनजर गर्दै पोखरा स्थित भाइबर एजुकेशन फाउन्डेसन एण्ड ओपन होस्टलमा अध्ययनरत विद्यार्थीहरूलाई एसईई परीक्षा सफलताको शुभकामना तथा पोखरा बाहिर परीक्षा केन्द्र तोकिएका विद्यार्थीहरूलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा शाखाका अधिकृत राम प्रसाद तिवारी प्रमुख अतिथि रहेका थिए । त्यस्तै, कुमुदिनी होम्स माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मुकेश कुमार अधिकारी, बुद्धि सापकोटा, गोविन्द सापकोटा, मिन बहादुर साउद, कृष्ण अधिकारी, विदुर भण्डारी, भगवान वास्तोला, अम्बिका बराल, दीपक पोखरेल, हरि कुँवर, निरा श्रेष्ठ, रामचन्द्र ढकाल लगायत ६० जना अभिभावक तथा सम्मानित व्यक्तिहरूकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कमलापति शर्माले गरेका थिए ।
विद्यार्थीहरूलाई सम्मान, शुभकामना तथा मायाको चिनो प्रदान
हाल भाइबर एजुकेशन फाउन्डेसन मा १ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा एसईई दिने विद्यार्थीहरूलाई सम्मानसहित शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरिएको थियो । साथै, भाइबर एजुकेशनको शैक्षिक सत्र २०८२ को क्यालेन्डर विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा आत्मविश्वासका साथ दिन प्रेरित गरेका थिए ।
पोखरा–४, गैरापाटनमा रहेको भाइबर एजुकेशन फाउन्डेसन एण्ड ओपन होस्टल ले लामो समयदेखि कक्षा ५ देखि माथिका विद्यार्थीहरूलाई आवासीय सुविधासहित परीक्षा तयारी गराउँदै आएको छ । विशेष रूपमा एसईई परीक्षार्थीहरूलाई प्राथमिकतामा राखेर कक्षा सञ्चालन गरिएको व्यवस्थापक मेख पोखरेलको भनाइ छ ।
यस वर्ष भाइबर एजुकेशनबाट १ सय ६० जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्, जसमा मुस्ताङ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ लगायतका जिल्लाबाट आएका विद्यार्थीहरू रहेका छन् ।
कार्यक्रममा विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन निरन्तर अध्ययन गर्ने प्रेरणा दिँदै, परीक्षाको तनाव कम गर्न सकारात्मक सोच राख्नुपर्ने सन्देश पनि दिइएको थियो ।
