बाह्रदेउ ज्यावन समाजको छैटौं साधारणसभा पुस २६ मा

धनगढी: बाह्रदेउ ज्यावन समाजको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन आगामी पुस २६ गते धनगढीमा आयोजना हुने भएको छ । समाजका वरिष्ठ उपाध्यक्ष जयबहादुर धामीले उक्त कार्यक्रमको जानकारी दिएका हुन् ।
अधिवेशनमा डा. डबल बहादुर धामी, शिक्षाध्यक्ष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसैगरी बुङ्गल नगरपालिका उपमेयर धनबहादुर विस्ट, केदारस्यूँ गाउँपालिका उपाध्यक्ष मनिशा धामी र परशुराम नगरपालिका उपमेयर विमला महता विशिष्ट अतिथिका रूपमा रहने कार्यक्रम तय भएको छ ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का सदस्य जयबहादुर धामी, नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण धनगढीका प्रतिनिधि, नायब सुब्बा कर्ण बहादुर बोहोरा, जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत विनोद धामी, भौतिक पूर्वाधार मन्त्रालयका अधिकृत जनकराज धामी, गोदावरी नगरपालिकाका सूचना अधिकृत मनोज धामी लगायत अतिथिका रूपमा सहभागी हुनेछन् । साथै कलाकार ममता धामीको विशेष उपस्थिति रहने जानकारी दिइएको छ ।
छैटौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिनुका साथै समाजका सदस्यहरूबीच भेटघाट, चिनजान र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखिएको वरिष्ठ उपाध्यक्ष धामीले बताए ।
बाह्र देउ समाजले विगतदेखि नै असहाय, विपन्न तथा आपत–विपतमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । साथै ज्यावनी समुदायको हक–हितका लागि आवाज उठाउँदै सामाजिक न्याय, पहिचान र अधिकारका सवालमा सक्रिय भूमिका खेल्दै आएको पनि समाजले जनाएको छ ।

यसै अवसरमा संस्थाका अध्यक्ष लक्ष्मण धामीले अधिवेशनलाई सफल बनाउन सम्पूर्ण ज्यावनी समुदायका सदस्यहरूलाई उपस्थित भइ कार्यक्रमलाई भव्य र सफल बनाउन अनुरोध गरेका छन् ।

ज्यावन समाजको सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा संस्थागत सुदृढीकरणका लागि यो अधिवेशन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

Loading...