केदारस्युँ गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिकामा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबार औपचारिक रूपमा सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद। बझाङको एकता खेलकुद विकासका लागि हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ भैरव माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गणेश बोहराले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “खेलकुद अनुशासन, मेहनत र सहकार्यको पाठ सिकाउने माध्यम हो । विद्यार्थी जीवनदेखि नै खेलकुदप्रति रुचि बढाउन सके स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष बोहराले गाउँपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा आवश्यक पूर्वाधार र अवसरहरू विस्तार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

केदारस्युँ गाउँपालिका खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा पालिकाभरका १३ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् । प्रतियोगिताअन्तर्गत छात्रछात्राहरूका लागि भलिबल, कबड्डी, दौड प्रतियोगिता, हाई जम्प, लङ जम्प, सटपुट लगायत विभिन्न खेलहरू सञ्चालन गरिने छन् ।

प्रतियोगिताले स्थानीय स्तरमा लुकेका खेल प्रतिभाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, यस्ता खेलकुद गतिविधिले विद्यालयस्तरमै प्रतिस्पर्धात्मक भावना विकास गर्दै विद्यार्थीहरूलाई जिल्ला प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा दिने आयोजकको अपेक्षा रहेको छ ।

Loading...