नेपाली भिलेज यूकेको चौथो साधारण सभा: २२ कोठाको ‘एबरक्लिडाच हाउस’ खरिद गरिँदै

लण्डन। संयुक्त अधिराज्य (यूके) मा सञ्चालित ऐतिहासिक परियोजना ‘नेपाली भिलेज यूके’को चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । सभामा यूकेका विभिन्न क्षेत्रबाट सेयरधनीहरू भौतिक रूपमा उपस्थित थिए । साथै ठुलो संख्यामा सेयरधनीहरू जुम मार्फत पनि सहभागी भएका थिए ।

सभामा नेपाली भिलेज युकेका अध्यक्ष तथा प्रबन्ध निर्देशक मेजर खुसिमान गुरुङ (एमभीओ)ले चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले परियोजनाको प्रगति, चुनौती र भावी योजनाबारे विस्तृत विवरण सार्वजनिक गरेका थिए ।

​अध्यक्ष मेजर खुसिमान गुरुङले यो परियोजना सबैको मुटुसँग जोडिएको बताए । खुल्ला हृदयले साथ दिने सम्पूर्ण सेयरधनीहरूको बलियो समर्थनका कारण नै परियोजना सफल हुँदै गएको उनको भनाइ थियो । यो एक दीर्घकालीन र समुदायमा आधारित व्यावसायिक परियोजना हो । हरेक परियोजनामा चुनौतीहरू आउँछन् । तर ती चुनौतीहरूलाई व्यावहारिक दृष्टिकोणबाट समाधान गर्दै अघि बढेको उनले प्रस्ट पारे ।

​यस वर्ष नेपाली भिलेज यूकेले एउटा ठुलो ऐतिहासिक कोसेढुङ्गा पार गरेको छ । संस्थाले २२ वटा कोठाहरू भएको ऐतिहासिक ‘एबरक्लिडाच हाउस’ (Aberclydach House) खरिद गर्ने निश्चित गरेको छ । एबरक्लिडाच हाउस पहिले होटलको रूपमा संचालनमा थियो ।

​उक्त भवनलाई होटलको रूपमा सञ्चालन गर्नका लागि आवश्यक कानुनी प्रक्रियाहरू अगाडि बढाइसकिएको आयोजकले जनाएको छ । “प्रिमिसेस लाइसेन्सको लागि आवेदन दिइएको छ । आगामी सन् २०२६ को अक्टोबरको सुरुसम्ममा सम्झौता आदानप्रदान (Exchange of Contracts) गर्ने लक्ष्य राखिएको छ । यसका लागि कानुनी प्रक्रियाहरू द्रुत गतिमा अघि बढिरहेका छन् । यो सम्पत्तिले भविष्यमा संस्थाको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” अध्यक्ष गुरुङले बताए ।

​संस्थाले थप ३०० सेयर संकलन गर्ने अभियान चलाएको थियो । प्रतिसेयर मूल्य ५,५०० पाउण्ड तोकिएको छ । यूके र नेपालको पोखरासम्म चलाइएको अभियानबाट थप १६८ सेयर संकलन भएको छ । विद्यमान सेयरधनीहरूका लागि आगामी ३१ डिसेम्बर २०२६ सम्म थप सेयर खरिद गर्ने अवसर खुल्ला राखिएको छ । निकट भविष्यमा अन्य सर्वसाधारणका लागि समेत सेयर आह्वान गर्नुपर्ने हुन सक्ने संकेत आयोजकले गरेको छ ।

नेपाली भिलेज यूके (NVUK) को होलिडे फार्महाउस (Aberclydach Fach) मा यस वर्ष बुकिङहरू निकै उत्साहजनक रहेको अध्यक्ष गुरुङले बताए । उनले भने, “आगामी वर्ष बुकिङ अझै बढ्ने अपेक्षा छ ।” फार्महाउसमा सम्भावित सेयरधनीहरूलाई केही निःशुल्क बस्ने व्यवस्था पनि मिलाइएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङले सम्पूर्ण सेयरधनीहरूलाई आफ्नै होलिडे फार्महाउसको सेवा र सुविधा उपभोग गर्न हार्दिक निमन्त्रणा गरे । यस्तै मनोरञ्जन र शिक्षा केन्द्रको योजना स्वीकृतिका लागि नेशनल पार्कका अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको उनले बताए । परिसरको अर्गानिक तरकारी बगाैंचा हाल मुख्य आकर्षण बनेको उनको भनाइ थियो ।

​यूके र नेपालमा गरिएका ब्रिफिङहरू तथा एल्डरसटमा सम्पन्न ‘विन्टर गाला’ ले धेरै नयाँ सेयरधनीहरूलाई आकर्षित गरेको अध्यक्षले जानकारी दिए । उनले अगाडि भने, “‘पैसाको बचत गर्ने र लगानीको उच्चतम प्रतिफल निकाल्ने’ मुख्य मन्त्रका साथ काम भइरहेको छ ।” निर्देशकहरूले विगत चार वर्षदेखि न्यूनतम पारिश्रमिक र खर्चमा पूर्ण रूपमा स्वयंसेवी भई काम गरिरहेका छन् । तर यो सधैँ यसरी नै चल्न नसक्ने भएकाले होटल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन र पारिश्रमिकको पुनरावलोकन गरिने प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।

संचालक समितिले नयाँ दृष्टिकोण र परिमार्जित रणनीतिका साथ अगाडि बढ्ने निर्णय गरेको छ । सेयरधनीहरूको बलियो साथले नै आफूहरूलाई ऊर्जा दिएको भन्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक मेजर खुसिमान गुरुङ (एमभीओ)ले सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

Loading...