लिग-२ सिरिजका लागि नेपालको टिम घोषणा, कुशल-सोमपालले फेरि पाएनन् मौका

काठमाडौँ, १६ असोज  : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा आयोजना हुने त्रिदेशीय शृङ्खलाका लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल, ओमान र क्यानडाबीच हुने शृङ्खला अक्टोबर ९ देखि १९ सम्म सञ्चालन हुनेछ ।

एसीसी प्रिमियर कपमा सहभागी नेपाली टोलीबाट नेपालले केही खेलाडी परिवर्तन गरिएको छ । तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई समावेश गरिएको छ । यस्तै, बाँयाहाते स्पिनर शाहब आलमले पनि टोलीमा पुनरागमन गरेका छन् ।

ब्याटरहरू कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र तीव्र गतिका बलर सोमपाल कामी भने यसपटक पनि टोलीमा पर्न सकेनन् । उनीहरूमध्ये कुशलले टोलीमा कमब्याक गर्ने सम्भावना थियो । किनकी उनले टप एन्ड टी–२० सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका थिए । तर, एसियन गेम्सको दुई खेलमा कुशलको ब्याट शान्त रह्यो । यद्यपि उनले बलिङमार्फत भने सानदार प्रदर्शन गरे । कुशल टोलीमा नपर्दा ओपनरको भूमिका आसिफ शेख र अर्जुन कुमालले नै जिम्मेवारी पाएका छन् । यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरालगायत खेलाडी पनि टोलीमा छन् ।

विश्वकप लिग–२ अन्तर्गत नेपालको यो अन्तिम शृङ्खला हो । नेपालले ओमानमा चार खेल खेल्नेछ । तालिकाअनुसार नेपालले अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप लिग–२ को जारी तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलमा अङ्क बाँड्दै २४ अङ्क जोडेको छ । ओमान चौथो तथा क्यानडा छैटौँ स्थानमा छ । नेपाल र क्यानडाका लागि यो शृङ्खला लिग–२ अन्तर्गत अन्तिम हुनेछ । ओमानले भने अझै दुई शृङ्खला खेल्न बाँकी छ ।

गत संस्करणमा लिग–२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाएको नेपाल यसपटक भने शीर्ष छभित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यमा छ । शीर्ष छमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्र्नेछ । त्यसैले ओमानमा हुने चार खेल नेपालका लागि लिग–२ को यात्रामा निर्णायक बन्नेछन् ।

नेपालले यसअघि लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा तालिकामा पछाडि परेको हो । अबको शृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्राप्त गर्ने अङ्कले नेपालको शीर्ष छमा पुग्ने सम्भावनालाई प्रत्यक्ष प्रभाव पार्नेछ । घरेलु टोली ओमान र क्यानडा पनि आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा रहेकाले तीन टोलीबीचको प्रतिस्पर्धा महत्त्वपूर्ण हुने देखिएको छ ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल ।

Loading...