दशैँको अवसरमा अमेरिकामा ‘आरटीपी दशैँ कप’ : १० टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालीको महान पर्व बडादशैँको अवसरमा अमेरिकाको नर्थ क्यारोलाइनामा आयोजना गरिएको यस वर्षको आरटीपी दशैँ कपको पहिलो चरण सम्पन्न भएको छ ।

नेपाली समुदायबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । आरटीपी दशैँ कपको सुरुआत सन् २०१७ देखि गरिएको आयोजक टोलीका विकास सापकोटाले बताउनुभयो ।

अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिन तथा नयाँ पुस्तालाई नेपाली समुदायसँग जोडिराख्न प्रतियोगिता आयोजना गरिएको सापकोटाले बताउनुभयो ।

यस वर्षको प्रतियोगिताको आयोजनामा विकास सापकोटा, जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज विष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा रहनुभएको छ । प्रतियोगितामा १० टोली सहभागी छन् ।

सहभागी टोलीको कप्तानमा मोहन सापकोटा, प्रदिन मगर, सुनिल केसी, विवेक तामाङ, अङ्कुर अधिकारी, निराजन अधिकारी, आकाश थापा, संयम लामिछाने, अञ्जल कार्की र अशोक सुवेदी रहेका छन् ।

आयोजकका अनुसार आरटीपी दशैँ कप करिब एक महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताले अमेरिकामा रहेका नेपालीबीच सम्पर्क, सहकार्य र सम्बन्ध विस्तारसँगै नेपाली भाषा, संस्कृति, चाडपर्व र पहिचानसँगको सम्बन्धलाई थप बलियो बनाउन सहयोग गर्ने टिम चियाबारीका कप्तान मोहन सापकोटाले बताउनुभयो ।

प्रतियोगिताका खेलाडी भूपाल कोइराला र विजय गुरुङले आरटीपी दशैँ कप सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकसित हुँदै गएको बताउनुभयो । उहाँहरूले प्रतियोगिताले नेपाली समुदायबीच साझा सम्बन्ध र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।

आयोजकले अमेरिकामा बसोबास गर्ने नेपालीको दोस्रो पुस्तासहित नयाँ पुस्तालाई समेत नेपाली संस्कृति, चाडपर्व र समुदायसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

Loading...