बझाङः हिजोआज दुर्गाथलीको सडक तातेको छ । मुलुकमा बढ्दो गर्मीसँगै सञ्जालमा टीकाटिप्पणीको रापले दुर्गाथलीको सडक तात्तातो छ । कतिपय सान्दर्भिक र धेरैजसो असान्दर्भिक टीकाटिप्पणी गर्नेको जमातले दुर्गाथलीको निर्माणाधीन सडकलाई यति बेला तताइ रहेका छन् ।
सञ्जालमा तातेको सडकको अनुगमन गर्न दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) सडक क्षेत्रमा पुगेका छन् । सञ्जालमा भ्रम धेरै छरपस्ट भएपछि अध्यक्ष तुफान सडक अनुगमन गर्न पुगेका हुन् । पत्रकारसँगै जिल्ला प्राविधिक कार्यालयको टोली बोकेर तुफान एक्सनमा उत्रिएका छन् ।
अनुगमनका क्रममा प्राविधिकहरूले सडक निर्माणाधीन अवस्थामै रहेकोले ‘भत्कियो, बिग्रियो, खत्तमै भयो, भ्रष्टाचारै भयो’ भन्ने अवस्था आई नसकेको उल्लेख गरेका छन् । पूर्वाधार विकास कार्यालयबाट खटिएका इन्जिनियर देवराज जोशीले भने ‘काम भइरहेको छ । हुनुपर्ने यस्तै हो । यसपछाडि मेन्टिनेन्स गर्ने ठाउँमा, नदबिएको ठाउँमा फेरी कोल तारो हालेर फेरी गिट्टी हालेर रोलरले दबाउने हो । हुनुपर्ने यस्तै हो ।’
सडक क्षेत्रमा पुगेका गाउँपालिका अध्यक्ष तुफानले साढे चार किलोमिटर कालोपत्रे सडक निर्माण सुरु गर्न नै ठुलो समन्वय र मिहिनेत गर्नु परेको उल्लेख गरे । टेन्डर भएको वर्षौँ वितेपनि ठेकेदार कम्पनीले काम सुरु नगरेको गुनासो अध्यक्ष तुफानले पोखे । उनले भने, ‘म निर्वाचित भएपछि सडक निर्माण कार्य सुरु भएको हो । टेन्डर भएको लामो समय भए पनि ठेकेदार सम्पर्कमा थिएन । ठेकेदारलाई समर्पकमा ल्याउनका लागि नै तीन महिना लाग्यो ।’
उनले थपे, ‘सिडिओलाई, पूर्वाधार कार्यालयलाई ठेकेदारलाई निर्देशन गर्न पटक पटक आग्रह गरेँ । बल्ल काम सुरु भएको छ । यसलाई गुणस्तरीय बनाउने सम्बन्धमा म स्पष्ट छु । गाउँपालिकाका प्राविधिकहरू नियमित अनुगमनमा पठाइरहेको छु । स्थानीयलाई कामको अनुगमन गर्न अनुरोध गरेको छु । सडक गुणस्तरीय बनाउने कुरामा विश्वस्त हुन सबैमा आग्रह गर्दछु ।’
सडक गुणस्तरीय नभए पास नगर्ने प्रतिबद्धता अध्यक्ष तुफानले व्यक्त गरेका छन् । ‘सडक पास गर्ने बेला सबै कुरा मिहिन तरिकाले हेरिन्छ । हाम्रो इन्जिनियर, पूर्वाधार विकास कार्यालयका कर्मचारी राखेर हेरेर मात्रै पास गरिन्छ । त्यसैले अहिले नै सडक राम्रो बनेन भन्ने सम्बन्धमा नकारात्मक टीकाटिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु ।’
ठेकेदार कम्पनी ग्वाल्लेक निर्माण सेवाले काम निर्माणाधीन अवस्थामै रहेको बताएको छ । कम्पनीका प्राविधिक विनोद रावलले भने, ‘इस्टमेट अनुसार बाटो बन्दै छ । बाटो निर्माण कार्य जारी नै छ । प्राविधिक रूपमा हामी सही छौँ ।’