वडाध्यक्ष सिंहले निर्माण गरे जयपृथ्वी प्रतिक्षालय, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

छबिसपाथिभेरा गाउँपालिका-१ मा निर्माण गरिएको प्रतीक्षालयको उद्घाटन गरिएको छ । कार्यसम्पादन मुल्यांकनमा प्रथम हुँदै पुरस्कृत भएको सो वडाले गाउँपालिकाबाट ५ लाख रकम पुरस्कार पाएको थियो । उक्त रकमबाट मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको स्मृतीमा यात्रु प्रतीक्षालय र शालिक निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले शुक्रवार प्रतिक्षालय र शालिकको उद्घाटन गरेका हुन् ।

बझाङमा जन्मिएर जिल्लाको नाम विश्वसामु चिनाउने, राष्ट्रिय विभूति राजा जयपृथ्वी बहादुर सिंह यात्रु प्रतीक्षालयको गाउँपालिका अध्यक्ष चलाउनेले रिबन काटेर ब्यानर वाचन मार्फत विधागत रूपमा उद्घाटन गरेका हुन् । वडाध्यक्ष करनजंग बहादुर सिंहको अध्यक्षतामा उद्घाटन गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउनेले वडाध्यक्ष करनजंग सिंहले निकै उदाहरणीय काम गरेको भन्दै प्रशंसासहित धन्यवाद व्यक्त गरे । अध्यक्ष चलाउनेले भने, ‘वडा नम्बर १ मा बढी बजेट ल्याउनको लागी उहाँ आफ्नो क्षमताले भ्याएसम्म लाग्नुभएको छ । उहाँले बाटोघाटो, पुलपुलेसा, शिक्षा स्वास्थ्य, पूर्वाधारका विषयमा जोड दिनुभएको छ । आफ्नो इच्छा शक्ति भयो भने, हामी जनताको सेवक हौँ । जनताको सेवा गर्नका लागी त्यहाँ गएका हौँ भन्ने सोच्नुभयो भने यी यस्ता उदाहरणीय काम बन्छन् ।’

सुरुवाती वर्षमै कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बनेर आफूले प्राप्त गरेको पुरस्कार रकम मार्फत पनि उनले राजा जयपृथ्वी बहादुर सिंहको सालिक सहितको यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले भने, ‘पुरस्कार आज पनि पाउँला, भोली पनि पाउँला, सबैले सफल र सक्षम हुन मद्दत गर्नुभएको छ । धेरैले भन्यो पुरस्कार खानको लागी हो । तर मैले पाएको पुरस्कारको सदुपयोग गर्दै पुस्तौँसम्म रहने गरी राजा जयपृथ्वी बहादुर सिंहको नाम र सम्झनामा प्रतीक्षालय निर्माण गरेको छु ।’

आर्थिक वर्ष २०७९/८० को कुल ३६ पुँजीगत योजना तथा कार्यक्रम रहेको वडाध्यक्ष सिंहले बताए । कुल बजेट ५७ लाख अठ्सट्टि हजार विनियोजन भएको सिंहले उल्लेख गरे । ‘हाम्रोले कार्यालय सम्पादन मूल्याङ्कन ८८.३८ प्रतिशत अङ्क प्राप्त गरेको छ । हामी कार्य सम्पादन मूल्याङ्कनमा पहिलो भएका छौँ,’ वडाध्यक्ष सिंहले भने ।
सिंहले कसरी गरे काम?
गाउँपालिकाले वडाहरूको कार्य सम्पादन मूल्याङ्कन गर्नका लागि तीन वटा मापदण्ड तोकेको थियो । समयमै योजना सम्पन्न गर्नु पर्ने, समयमै भुक्तानी गर्नुपर्ने र योजनाका शीर्षकहरू दीर्घकालीन महत्वका हुनुपर्ने मापदण्ड थिए । एक दुई वटा काम बाहेक सबै योजना चैत्र मसान्तभित्र सम्पन्न गरेर भुक्तानी गरेको वडाध्यक्ष सिंहले बताए ।  विवादरहित वातावरणमा सबै पक्षलाई समेटेर विकासे काम सम्पन्न गरेको सिंहको तर्क छ ।

उनले भने प्रत्येक गाउँमा ढलानयुक्त बाटो निर्माण गरेका छौँ । सुत्केरी महिलालाई यातायात तथा पोषण भनेर पाँच हजार दिने गरेका छौँ । बुडाबुडीहरूलाई न्यानो कपडा र व्लांकेट वितरण गर्‍यौँ । वर्षौँपछि मटेलामा प्रहरी चौकी पुनः स्थापना गर्न सफल भयौँ । यी नै कामहरूको मूल्याकंन भएको हो ।’

शुक्रवार वडा अध्यक्ष करन जङ्ग बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उपाध्यक्ष लक्षिमन बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडी, वडा अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक तथा कर्मचारी र वडावासीको उपस्थिति रहेको थियो ।

Loading...