समाजसेवा गर्न राजनीतिमा आएको हुँ, कमिसनका धन्दा बन्द गर्नु मेरो जिम्मेवारी हुनेछः भण्डारी

गठबन्धनकातर्फबाट सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ निर्वाचन क्षेत्र २ का उम्मेदवार भीम भण्डारीले विशुद्ध समाजसेवा गर्न राजनीतिमा आएको बताएका छन् । राजनीति कमाउने थलो नभएको बताउँदै राजनीतिलाई संस्कारयुक्त बनाउन आवश्यक भएको भण्डारी बताउँछन् । पछिल्लो समय राजनीतिलाई व्यवसायको रुपमा लिने प्रवृत्ति भएकोले त्यसैकोविरुद्ध युवाहरू जागरुक हुनु पर्ने भण्डारीको तर्क छ ।

मुलुक शान्ति प्रक्रियामा आइसकेपछि आफू निरन्तर जनताको माझमा रहेको भण्डारीले बताए । पार्टीको जिम्मेवारी बाकेको हालसम्म कुनै पनि सार्वजनिक पद धारण नगरेको र व्यक्तिगत रुपमा गाउँठाउँमा आवश्यक पर्दा सहयोग गर्दै आएको भण्डारीले उल्लेख गरे ।

‘विशुद्ध समाजसेवा गर्नका लागि राजनीतिमा आएको हुँ । राजनीतिलाई समाजसेवाकै रुपमा रहन दिनुपर्दछ । म राजनीतिलाई व्यवसायको रुपमा लिँदैन । म प्रति स्वच्छ इमानदार राजनितिकर्मी भएको जुन किसिमको विश्वास पार्टी र गठबन्धनका दलहरूले गरेको छन् त्यसलाई कायम राख्न दृढ रहने छु ।’ भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारका अधिकांश सभासद्हरू कमिसन लिएर योजना बाँडफाँड गर्छन्, यो विषयमा तपाईंको धारणा के हो? सञ्चारकर्मीको प्रश्नमा जनताले मत दिएर प्रदेश सभामा पठाएको खण्डमा कमिसन लिने र दिने प्रवृत्तिविरुद्ध आफू लाग्ने भण्डारीले बताए ।

अहिले प्रदेश सभामा कमिसन लिने र दिने विकृति देखिएको स्वीकार गर्दै त्यसविरुद्धमा आफू लड्ने उनको तर्क छ । ‘अहिले नेपालको राजनीति डरलाग्दो ढंगले अगाडि बढी रहेको छ । यसै तरिकाले बढ्ने हो भने, यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । देश असफलतातिर जान्छ । त्यसको दोस राजनीतिक दलका नेताहरूले लिनुपर्ने हुन्छ । हिजोका शासकविरुद्ध जसरी जनताले सडकमै काटे त्यस्तै परिस्थिति नआउला भन्न सकिँदैन ।’ भण्डारीले भने ।

मान्छे व्यवसायिक रुपमा आत्म निर्भर नहुँदा विभिन्न किसिमका सम्झौता गर्ने गरको छन् । मैले मेरो जीवन निर्वाह गर्नका लागि कुनै पनि किसिमको अनुचित सम्झौता गर्नु पर्ने बाध्यता छैन । हाम्रो पारिवारिक विरासत हेर्दा व्यापारिक पृष्ठभूमिबाट आएका छौँ । बजेट निर्माणमा त्यो कुराले प्रभाव पार्ने रैछ । मेरो जीवन पार्दशी छ । मेरो चुल्हो बाल्नका लागि मैले कसैको अगाडि हात जोड्नु पर्ने बाध्यता छैन । विशुद्ध समाजसेवाका लागि राजनीतिमा आएको छुँ । म मेरो ठाउँबाट कमिसन लेनदेनका विषयमा प्रश्न गर्न सक्छु,’ भण्डारीले भने, ‘प्रदेशका विकृति विसंगतीलाई चिर्नका निमित्त र संघियताको जग बलियो गर्नका लागि मेरो भुमिका मुख्य हुने छ । राजनीतिलाई संस्कारयुक्त बनाउनु पर्छ ।’

सुशासन कायम गर्नका निमित्त जनताले पनि आफ्नो क्षेत्रका नेतालाई सचेत गर्नका निमित्त तयार हुनु पर्ने भण्डारीले बताए । ‘धन सम्पत्ति जोड्नु छ, पैँसा कमाउनु छ, घर घडेरी जोड्नु छ भने अन्य पेशामा लागौँ । पेशा व्यवशाय गरौँ । यो धन्दा गर्ने ठाउँ होइन । पैँसा कमाउनका लागि राजनीति नगरौँ ।’ भण्डारीले अनुरोध गरे ।

Loading...