गत माघमा काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे । आचार्यको उपचारका क्रममा मृत्यु भयो । उक्त घटनापछि काठमाडौँ प्रहरी परिसरले खुला रूपमा विक्रिवितरण गर्न प्रतिबन्ध लगायो । यसअघि पनि काठमाडौँमै एक युवतीले आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री गर्दा मानवीय एवम् भौतिक क्षति हुने भएकाले खुला बिक्री वितरण नगर्न प्रहरीले सूचित गरेको थियो ।
७७ चैत्रमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगायो । सम्भावित मानवीय एवम् भौतिक क्षतिको जोखिम आकलन गर्दै नगरपालिकाले खुला रूपमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो ।
बझाङमा भने पेट्रोलियम पदार्थको खुलेआम विक्रिवितरण हुँदै आएको छ । जिल्लाभर सयौँ व्यापारीले अत्यन्त प्रज्वलनशील पदार्थको खुला व्यापार गर्दै जोखिमलाई चुनौती दिइरहेका छन् । यसरी खुला रूपमा पेट्रोलियम पदार्थ विक्रिवितरण गर्नमा सर्वसाधारण मात्रै छैनन् टाठाबाठाहरु पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नगेन्द्र खड्का खुला रूपमा पेट्रोलियम पदार्थ बेच्न बझाङमा प्रतिस्पर्धा गरिरहेका छन् ।

सदरमुकाम चैनपुरमा नेता खड्काको खड्का इन्टरप्राइजेज (हार्डवेयर) छ । सोही हार्डवेयरमा खड्काले पेट्रोलियम पदार्थको अवैध बिक्री वितरण गर्छन् । पेट्रोलियम पदार्थको कारोबारका लागि आयल निगमबाट अनुमति लिनुपर्ने हुन्छ । तर, खड्का भने अबैध रूपमा कालो धन्दा गरिरहेका छन् । नेपाल सरकारले तोकेको शुल्कभन्दा १० देखि २० रुपैयाँसम्म बढी लिएर उनी पेट्रोल तथा डिजेल बेच्छन् । गज्जबको कुरा त के छ भने, उनी अरूभन्दा केही सस्तो मूल्यमा बेच्छन् र ग्राहक आकर्षण गर्छन् ।

सदरमुकाममै ठुला व्यापारी कहलिएका व्यक्ति हुन् जगत मल्ल । उनको सदरमुकाम चैनपुरमा मल्ल स्टोर नामको होलसेल व्यापार छ । मुख्य गरी खाद्यान्न सामाग्री बिक्री वितरण गर्ने मल्ल पनि खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्छन् । मल्लको गोदाममा पेट्रोलियम पदार्थले भरिएका ठुला ठुला ड्रम छन् । धनगढीबाट ड्रममा भरेर पेट्रोलियम पदार्थ ल्याउने गरेको मल्ल बताउँछन् । सरकारी कार्यालयहरु नै पेट्रोलियम पदार्थको उपभोक्ता रहेको मल्लले बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी कार्यालय लगायतका निकायले लिने गरेका छन् । यहाँको म त आधिकारिक विक्रेता जस्तै हो ।’ तर, आफूले पेट्रोलियम पदार्थको कारोबारका लागी कुनै निकायबाट अनुमति नलिएको बताए ।

बझाङका व्यापारिक केन्द्रहरुमा यसरी नै अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने गरेको छ । व्यापारीहरूले धनगढी तथा डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ओसारेर जिल्लामा बिक्री गर्ने गर्ने गरेका छन् । झन्डै ५ दर्जन भन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका छन् ।
भगवती ग्रील उद्योगका सञ्चालक लक्ष्मण जोशीले पनि खुलेआम पेट्रोलियम पदार्थ बेच्छन् । सरकारी निकायले नै पेट्रोलियम पदार्थको माग गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘धेरैले माग गर्छन्, हामी धनगढीबाट ड्रममा ल्याउँछौँ, अरूको जस्तो बोतलमा बिक्री गर्दैनौँ । जिल्लामा पेट्रोल पम्प नहुँदा सप्लायर्सबाट बेच्ने गरेका छौँ ।’
सदरमुकाम चैनपुरमै एक दर्जन बढीले बिक्री वितरण गरिरहेका छन् । चैनपुरमा खड्का इन्टरप्राइजेज, भगवती ग्रील उद्योग, मल्ल स्टोर, सङ्गीता फेन्सी स्टोर, शैलेश्वरी फेन्सी स्टोर, हमाल ट्रेडर्स एन्ड सप्लायर्स, पुवंर हार्डवेयर एन्ड सप्लायर्स, बोहरा ब्रदर्श एन्ड सप्लायर्स, बोहरा किराना पसलले खुलेआम बिक्री वितरण गर्छन् ।

यस्तै जिल्लाका सुवेडा, तमैल, भाँडे बजार, मौरी बगर, झनाना, झोता, देउरा, बाग थला, देउलेख, बित्थड लगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिरहेका छन् ।
तोकेको शुल्कभन्दा बढी असुली
अवैध कारोबारीले तोकिएको शुल्कभन्दा बढी असुलेर बिक्री वितरण गरिरहेका छन् । हाल डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ भए बझाङमा भने २०० रुपैयाँ प्रतिलिटर असुली गरिन्छ । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २ सयसम्म असुल्ने गरेका छन् । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरूले उपभोग गरिरहेका छन् । पेट्रोलियम पदार्थको मंहगोमा किन्न परेपछि यातायात व्यवसायीले गाडी भाडासमेत बढाउने गरेका छन् ।
दुर्घटनाको जोखिम
जथाभाबी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम बढेको छ । पेट्रोलियम पदार्थ अत्यन्त प्रज्वलनशील हुने भएकोले यसले ठुलो जनधनको क्षति गर्न सक्ने स्थानीय अमर दहनिले बताए । जिल्लाका धेरै बजारहरूमा ड्रममा भरेर डिजेल र पेट्रोल राखिएको छ । चैनपुरमा फेन्सी पसलमा पेट्रोल, ग्यारेज, सप्लार्यस, हार्डवेयर, कपडा पसलमा पेट्रोल राखेको देखिन्छ । पेट्रोलियम पदार्थलाई दुरी निर्धारण गरी बिक्री गर्न मिल्ने भए पनि अहिले प्रत्येक पसलमा भेटिने गरेको छ । यी प्रज्वलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ ।

खुला रूपमा बिक्री वितरण हुने पेट्रोलियम पदार्थमा पनि मिसावट हुने गरेको दहनीको अनुभव छ । उनी भन्छन्, ‘कसैले त पेट्रोलमा पानी मिसाएका हुन्छन् । यसले गर्दा सवारी साधन बिग्रिने गरेका छन् ।’
बजारहरूमा अवैध रूपले पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यापारीले आलय निगमको अनुमति लिएका छैनन् । जयपृथ्वी नगरपालिकाबाट पनि कसैले अनुमति नलिएको एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘अहिलेसम्म कसैले अनुमति लिएका छैनन् र राजस्वपनि बुझाएका छैनन् ।’

व्यापारीले किन लिँदैनन् आलय निगमबाट अनुमति?
आलय निगमले पछिल्लो पटक २०७६ वैशाखमा सामान्य पम्पका लागि इजाजत खुलाएको थियो । ६० दिनको समयावधि तोकेर इजाजतका लागि आवेदन खुलाइएको थियो । तराईमा पम्प खोल्न १० कट्ठा जमिन हुनुपर्ने मापदण्ड तोकिएको थियो । पहाडी क्षेत्रमा चार कट्ठा वा दुई रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको थियो । निवेदन दस्तुर ५० हजार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख थियो । निगमले मध्य पहाडी तथा नयाँ खुलेका राजमार्गलाई लक्षित गरी लाइसेन्स खुलाएको भए पनि बझाङका कुनै व्यापारीले इजाजतका लागि निवेदन दिएनन् । इजाजत लिए अहिलेको जस्तो बढी असुल्न नपाउने भएकोले उनीहरूले इच्छा नदेखाएको जानकारहरू बताउँछन् । हाललाई सामान्य पम्पको इजाजत बन्द छ । नमुना पम्पका लागि भने आवेदन खुला रहेको नेपाल आलय निगम राष्ट्रिय कर्मचारी सङ्घका महासचिव झविन्द्र विश्वकर्माले बताए ।
छैन नियमन र अनुगमन
महासचिव विश्वकर्माका अनुसार अवैध पेट्रोलियम पदार्थको बिक्री वितरण र नियमन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको बताए । पेट्रोलियम पदार्थसम्बन्धी कानुन नबनेको हुनाले अन्य बजार अनुगमनसरह प्रमुख जिल्ला अधिकारीले नियमन गर्न सक्ने उनको भनाई छ । साथै स्थानीय तहले पनि यसमा नियमन गर्न सक्छन् । यद्यपि बझाङमा भने प्रशासनको नजर पुग्न सकेको छैन ।