जिप दुर्घटना पीडितका लागि छविसपाथिभेरा गाउँपालिकाको एक लाख पचहत्तर हजार सहयोग 

बझाङको मस्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत र घाइते व्यक्तिहरूको उपचारका लागि छविसपाथिभेरा गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले राहत तथा उपचार खर्च स्वरुप १ लाख ७५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

शुक्रबार गाउँ कार्यपालिकाको बैठकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष बसन्तबहादुर चलाउनेले जानकारी दिए । 

मस्टा गाउँपालिकामा भएको दुर्घटनामा स्थानीय तहले स्वतःस्फूर्त आर्थिक सहयोग गरिरहेका छन् । जिप दुर्घटना पीडितका लागि जयपृथ्वी नगरपालिकाले ३ लाख, तल्कोट गाउँपालिकाले २ लाख र साइपाल गाउँपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गरेका छन् । 

बुधबार साँझ साढे ४ बजे मस्टा– १ डुग्रीबाट भातेखोला जाने क्रममा तुफानडाँडानजिकै सु.प.प्र. ००१ च ११७ नम्बरको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भई १५ जना घाइते भएका थिए। जिप सडकभन्दा झन्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाका मृतक तथा घाइतेहरू अधिकांश जिल्लाको सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू छन् ।

 

Loading...