विवादित पृष्ठभूमि भएको जागृति निर्माण सेवालाई बझाङमा अधिकांश ठूला योजनाका ठेक्का

‘चोरलाई चौतारी, साधुलाई सुली’ यो उखान बझाङको एक निर्माण कम्पनीको पृष्ठभूमि र काम गर्ने शैलीसँग चरितार्थ छ । ठाउँठाउँमा ठेक्का लिएर अलपत्र पारेको, ढिलासुस्ती गरेको, मापदण्ड विपरित काम गरेको भन्दै कानुनको लौरोले डामिएको एक निर्माण कम्पनीले नै ठूला योजनाका ठेक्कामा रजाँई गरिरहेको छ ।

कुनै समय चर्चित तथा शक्तिशाली निर्माण व्यवसायी कहलिएका बझाङका ठेकेदार गगन रोकायाले व्यवसायको उत्तराधिकार पुत्र पुस्कर रोकायालाई हस्तान्तरण गरेपछि यो कम्पनी बढी कारबाही तथा प्रशासनको केरकारमा परेको देखिन्छ ।

हाल जागृति निर्माण सेवा कम्पनीका एकल सेयर होल्डर तथा सञ्चालक हुन् पुस्कर रोकाया । रोकायाले सञ्चालन गरेको यो निर्माण कम्पनीको पृष्ठभूमि बदनामीपूर्ण भएपनि अहिले बझाङमा निर्माणाधीन ठूला योजना भने जागृतिकै वर्चश्व छ ।

बझाङमा निर्माणाधीन सडकदेखि सार्वजनिक भवनसम्म जागृति निर्माण सेवा कम्पनीले कब्जा जमाएको छ । चालु आर्थिक वर्षमा मात्रै करिब एक अर्ब लागतका ठूला विकासे योजनामा जागृति निर्माण सेवा कम्पनीले काम गरिरहेको छ ।

जागृति निर्माण सेवाले चालु आर्थिक वर्षमा बझाङमा मात्रै ६ वटा ठुला विकासे योजनामा काम गरिरहेको छ । जयपृथ्वी सडक खण्ड अन्तरगत लिमदेखि चैनपुरसम्म स्तरोन्नति, (लागत करिब २२ करोड), बित्थडचिर गाउँपालिका १५ शैया अस्पताल, (लागत १५ करोड), केदार स्यूँ गाउँपालिकाको १५ शैयाको अस्पताल, (लागत १७ करोड), छविसपाथिभेरा गाउँपालिकाको १० शैयाको अस्पताल, (लागत १२ करोड), थलारा गाउँपालिका भवन, (लागत करिब ७ करोड), मस्टा गाउँपालिका पार्क निर्माण, (लागत करिब ३ करोड) का योजना जागृतिले ठेक्का पाएको छ ।

यस्तो छ जागृति निर्माण कम्पनिकाे बदनाम पृष्ठभूमी
कैलालीमा ८ लाख जरिवाना डामिएको
आर्थिक वर्ष २०७५/०७६ मा सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ११ निर्माण व्यवसायीहरू कारबाहीमा परेका थिए । सडक डिभिजन कञ्चनपुरले कैलालीको खगोरी खोलामा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै जागृती निर्माण सेवा ८ लाख ४३ हजार ५ सय २ जरिवाना गरेको थियो ।
एक वर्षभित्र बनाउनुपर्ने पानकोट पुलमा ७ वर्ष
२०७२ मा ठेक्का भएर २०७३ असार मसान्त भित्र बनिसक्नुपर्ने यो पुल विभिन्न बहानामा निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । पुरानो ठेक्का र डिजाइन परिर्वतन गरेर सात वर्षपछि यो पुलको निर्माण कार्य भएको थियो । पुल निर्माण हुन नसक्दा वर्षौअघि निर्माण भएका सडकहरू पनि बेकामे बनेका थिए । २०७२ बैसाखमा भएको थियो । तत्कालीन जिल्ला विकास समितिको ६ करोड ७८ लाखको लागतमा ठेकेदार कम्पनी निलगिरी निर्माण सेवा र जागृती निर्माण सेवाले संयुक्तरूपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।
डडेल्धुरामा ढिलासुस्ती गरेकाे भन्दै कारबाहीका लागि सिफारिस
आर्थिक वर्ष २०७५/०७६ मा डडेल्धुरामा रडुवा–बडम पुल निर्माणको जिम्मा लिएको बझाङ्गको जागृति निर्माण सेवाले काममा ढिलासुस्ती गरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कारबाहीका लागि गृह मन्त्रालयमा उजुरी गरेको थियो । अमरगढी नगरपालीका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा–बडम खोलाको पक्की पुल २०७१ सालमा सम्झौता भएको थियो । २०७३ सालमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल कारबाहीका लागि सिफारिस भएपछि करिब ३ वर्ष अलपत्र पारी २०७६ मा बनेको थियो ।
जयपृथ्वी राजमार्गमा खाल्डैखाल्डा
जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्डको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । सकडमा भएका ठूला ठूला खाल्डा र वर्षातकाे समयमा खाल्डामा पानी जमेपछि यस राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरिरहेको छ । राजमार्गको बागथलादेखि चैनपुरसम्मको ४५ किलोमिटरमा विभिन्न ठाउँमा खाल्डै खाल्डा परेका छन् । सडक मर्मतका लागि करोडौं पैसा खर्च भए पनि सडकको अवस्था भने उस्तै छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएकोे सडक खण्ड हस्तान्तरण नगर्दै बिग्रेको थियो । जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृति निर्माण सेवा, ग्वाल्लेक निर्माण सेवा र जलजला निर्माण सेवाले सडक स्तरोन्नतिको ठेक्का लिएका छन् ।

चौतर्फि विवादास्पद र बदनामीको पृष्ठभूमि भएको जागृति निर्माण सेवा कम्पनीले कसरी पाउँछ ठूला ठेक्का? जागृतिका शक्तिशाली सञ्चालक रोकाया को हुन्? यी प्रश्नको जवाफ अर्को श्रृङ्खलामा समेट्ने छौँ ।

Loading...