गत वर्षको असारमा बझाङको वित्थडचिर गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको ठेक्का सम्झौता भइ रहेको थियो । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयबाट बजेट विनियोजन भएको उक्त अस्पतालको निर्माणको लागि विभिन्न कम्पनीले टेण्डर पेश गरेका थिए । १८ करोड लागत रहेको उक्त अस्पताल निर्माणका लागि विभिन्न कम्पनीले टेण्डर पेश गरेपनी विवादित पृष्ठभूमी भएको बझाङको जागृती निर्माण सेवा कम्पनीले ठेक्का पाएको थियो ।
जागृती निर्माण कम्पनीले ठेक्का हात पार्नका तत्कालिन कार्यकारी चक्रदेव भट्टलाई नै सरुवा हुन बाध्य गरियो । जागृतीले तत्कालिन एमालेबाट गाउँपालिका अध्यक्ष भएका प्रेम बोहराले कार्यकारी भट्टलाई सरुवा लिनका लागि बाध्य पारिएको बताइन्छ ।
कसरी भए भट्ट सरुवा?
वित्थडचीर गाउँपालिकाका तत्कालिन कार्यकारी चक्रदेव भट्ट अहिले अछामको तुर्माखाँद गाउँपालिकामा छन् । अस्पताल निर्माणको ठेक्का सम्झौता प्रक्रियामा रहेको बेला भट्टले विधिसम्बत फाइल अगाडी बढाउन खोजेपछि जागृती निर्माण सेवाले गाउँपालिका अध्यक्ष प्रेम बोहराबाट भट्टलाई निसाना बनाएको थियो । सार्वजनिक खरिद नियमावली अनुसार फाइल अगाडी बढाउन खोज्दा अध्यक्ष बोहराले कार्यकारी भट्टको अधिकारमाथि हस्तक्षेप गरेका थिए । सार्वजनिक खरिद नियमावली अनुसार फाइल अगाडी बढे जागृतीले ठेक्का पाउने सम्भावना थिएन । ठेक्का पाउनका लागि जागृती निर्माण सेवाले गाउँपालिकामा कार्यरत करार इन्जिनियर सन्देश भण्डारीलाई हातमा लिएको थियो । राजनीतिक सोर्सफोर्सबाट गाउँपालिकामा नियुक्ती पाएको हुँदा टुंगो नभएको जागिरबाट जसरी भएपनि कमाउनु पर्छ भन्ने मनसायमा थिए भण्डारी । भण्डारीको यही कमजोरीको फाइदा जागृती निर्माण सेवाले उठायो । जागृती निर्माण सेवाले ठेक्का हत्याउनका लागि सार्वजनकि खरिद नियमावली विपरित टेण्डर आह्वान गरेको २३औँ दिनमा विड डकुमेन्ट संशोधन गराएको थियो । जसका मतियार थिए इन्जिनियर सन्देस भण्डारी । टेण्डर आह्वान भएको २३औँ दिनमा टेण्डरको विड डकुमेन्ट परिवर्तन गरि स्टोन मेशिनरी वालको सट्टा अश्लार मेशिनरी वाल राखिएको थियो ।
भण्डारीले जागृतीलाई ठेक्का पार्नकै लागि चारपटकसम्म (पिपिएमओ) मा विड डकुमेन्ट परिवर्तन गरेको जानकारी कार्यकारी चत्रदेव भट्टले पाएपछि पहिलो पटक नसिहत दिएका थिए । तर, शक्तिको आडमा रहेका भण्डारीले कार्यकारीको नसिहतलाई टेरपुच्छर लगाएनन् ।
भण्डारीले कार्यालयको सामान्य निर्देशन समेत अवज्ञा गर्न गरेको कार्यकारी भट्ट बताउँछन् । गाउँपालिका अध्यक्ष र इन्जिनियरको दबाबमा अस्पतालको फाइल अगाडि बढाएको भट्टको गुनासो छ । विड डकुमेन्टकै आधारमा जागृतीले अस्पतालको ठेक्का हात पारेको र त्यसपछि काम गर्ने वातावरण नभएपछि सरुवा लिन बाध्य भएको कार्यकारी भट्ट बताउँछन् ।
(अस्पतालको ठेक्का प्रकरणमा सरुवा भएका कार्यकारी चक्रदेव भट्ट बायाँ र जागिर गुमाएका सन्देस भण्डारी दायाँ)
यता, इन्जिनियर भण्डारीले जागृतीलाई नै ठेक्का पार्नको लागि आफ्नो जागिर गुमाएका थिए । गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष अमर महर आएपछि सन्तोषजनक कार्य सम्पादन नगरेको भन्दै भण्डारीलाई जागिरबाट बर्खास्त गरेका थिए । अस्पतालको ठेक्का सेटिङमा भण्डारी संग्लन भएको भन्दै विवादित बनेका इन्जिनियर भण्डारीलगायत केही करारका कर्मचारीलाई अध्यक्ष महरले बर्खास्त गरेका थिए ।
जागृती निर्माण सेवाले ठेक्का पाउनका लागि त्यतीबेला एमालेका ठुला नेतालाई परिचालन गर्ने गरेको थियो । जागृती निर्माण सेवाका पूर्व सञ्चालक गगन रोकाया पूर्व एमाले र हालका नेकपा एकिकृत समाजवादीका नेता भानुभक्त जोशीका नजिकका पात्र मानिन्छन् । आन्तरिक कारणले जागृती निर्माण सेवाको व्यवसायलाई अहिले रोकायाले आफ्नो उत्तराधिकारी पुस्कर रोकायालाई हस्तान्तरण गरेका छन् । जागृतीको सञ्चालक पुस्कर रोकाया भएपनि ठुला ठेक्कामा चलखेल गर्ने भूमीकामा गगन रोकायनै रहेको जानकारहरु बताउँछन् ।
सम्पादकीयः यस अघि इन्जिनियर सन्देस भण्डारीलाई कार्यकारी चक्रदेव भट्टले बर्खास्त गरेको उल्लेख भएकोमा सच्याइएको छ ।