आन्तरिक प्रतिस्पर्धाबाट होइन खुला प्रतिस्पर्धाबाट शिक्षक पूर्ती गर्नुपर्छः नेत्वृ सिंह

विद्यार्थी संगठनहरूले विद्यालय शिक्षक र प्रधानाध्यापक छनौट खुला प्रतिस्पर्धाबाट गर्न माग गरेका छन् ।

हाल सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा राहत, अनुदान, प्राविधिक र प्रशिक्षक अनुदानमा रहेका शिक्षकहरूबाट ५० प्रतिशत र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रस्ताव गरिएको छ। तर विद्यार्थी संगठनहरूले भने सबै शिक्षक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न माग गरेका छन् ।

‘आन्तरिक प्रतिस्पर्धाबाट होइन खुला प्रतिस्पर्धाबाट शिक्षक पूर्ती गर्नुपर्छ,’ अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘झोला बोकेको आधारमा शिक्षकको नियुक्ति हटाउनुपर्छ । खुला प्रतिस्पर्धामा जानुपर्छ ।’

सिंहले शिक्षक संगठनको दबाबमा विधेयक निर्माण नगर्न संसदीय समितिलाई सुझाव दिएकी छिन् ।

‘भर्खर पास आउट भएका फ्रेस विद्यार्थीहरूलाई पढाउने शिक्षक बनाउनुपर्छ,’ सिंहले भनिन्, ‘दबाब समूहको घेराबन्दीमा परेर सिण्डिकेट लगाउनु हुँदैन । शिक्षा क्षेत्रमा पुग्ने जनशक्ति शत प्रतिशत खुला प्रतिस्पर्धा गराउनुपर्छ ।’

त्यस्तै, अनेरास्ववियुले पनि विद्यालयको प्रधानाध्यापक छनौटमा खुला प्रतिस्पर्धाको वकालत गरेको छ ।

‘छनौटमा प्रतिस्पर्धा गराए सक्षम र योग्य प्रधानाध्यापक चयन हुन्छन्,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने, ‘साँघुरो दायरा बनाउनुहुन्न । देशभित्रका सबै सामुदायिक विद्यालयबाट छनौट गर्नुपर्छ ।’

अनेरास्ववियुले आधारभूत तहमा आधारभूत तह पढाउने शिक्षकहरूबीच र माध्यमिक तहमा पढाउने शिक्षकहरूबीच प्रतिस्पर्धा गराएर शिक्षक छनौट गर्नुपर्ने बताएको छ ।

सरकारले ल्याएको विधेयकमा स्थानीय तह भित्र अध्यापन गराउने शिक्षकहरूबीच प्रतिस्पर्धा गराएर प्रधानाध्यापक चयन गर्ने व्यवस्‍था प्रस्तावित छ । यसरी चयन हुने प्रधानाध्यापकको कार्यकाल पाँच वर्ष राख्न विधेयकमा प्रस्ताव गरिएको छ ।

Loading...