प्रचण्डलाई खगराजको प्रश्न- २२९ सिटको माओवादी ३२ मा झारेको समीक्षा हुने कि नहुने?
‘देउवासँग प्रतिष्पर्धा गरेर २२ हजार मत ल्याउने हैसियत माओवादीमा खगराज भट्ट बाहेक कसको छ?'
खगराज भट्ट नेकपा (माओवादी केन्द्र) का पुराना र पाकामध्येका एक नेता हुन्।
सुदूरपश्चिम प्रदेशबाट माओवादीको एकमात्र स्थायी कमिटी सदस्य रहेका भट्टले यसपटक संसदीय र पार्टी दुवै राजनीतिमा धक्का व्यहोर्नुपर्यो।
गठबन्धनबाट डडेलधुराबाट प्रदेश सभामा उठ्दा मुख्यमन्त्रीको दाबेदार र घोषणा गरिएका भट्ट शक्ति समीकरणका कारण मुख्यमन्त्री भएनन्, बरू आफ्नै सांसदहरूले उनलाई पार्टीको संसदीय दल नेताबाटै हटाए।
बुधबार बसेको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जबाट पनि हटाएपछि भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुला पत्र लेखेर विरोध गरेका छन्।
अध्यक्ष प्रचण्डको कार्यशैली ठिक भएन भनेर आवाज उठाएका भट्टलाई अब के गर्नुहुन्छ भनेर सोधिएको छ :
माओवादी स्थायी कमिटी बैठकका निर्णयमा तपाईंले असहमति जनाउँदै पार्टी अध्यक्षलाई पत्र लेख्नुभयो, यसको पृष्ठभूमि के हो?
पहिलो कुरा त के हो भने पार्टी नीति, विधि, पद्धति र प्रणालीमा चल्नुपर्यो। पार्टीमा सबै नेताकार्यकर्तालाई समान किसिमको न्याय हुनुपर्छ। कोही नेतामाथि आरोप लगाउनुअघि र अरूले लगाएको आरोप सुन्नुअघि पार्टी नेतृत्व तथ्यमा पुग्नुपर्छ। कसैले आरोप लगाएको भरमा धारणा बनाउनु हुँदैन। म पार्टीको इमान्दार सिपाही हुँ भन्ने कुरा अब पनि दाबी गरिरहनुपर्ने कुरा होइन, पार्टीको नेतृत्वदेखि तलसम्म सबैलाई थाहा भएकै कुरा हो। सुदुरपश्चिमको पहिलो जेलबन्दी हुँ, यो पार्टीमा ३४ वर्ष बिताएको छु।
प्रतिकूल स्वास्थ्यका बाबजुद पार्टी बनाउने काममा निरन्तर लागिपरेको छु। मेरो जेठो दाजु सहिद हुनुभयो, मेरो घरबाटै माओवादीमा ६ जना पूर्णकालीन (होलटाइमर) कार्यकर्ता छौं। त्यसैले यो पार्टीको विकल्प मैले सोच्न सक्दिनँ। तर यतिका समय यही बिताएको र रगत, पसिना सिँञ्चित गरेकोले पार्टीले बाटो बिराउँदा सच्याउने जिम्मेवारी मेरो हुन्छ। अहिले म त्यही बाटोमा छु। नेतृत्वले गरेको गल्ती सच्याउने प्रयत्न गरिरहेको छु। पार्टीलाई करेक्सनको बाटोमा लैजाने मेरो सधैं प्रयास हुनेछ। यो प्रयासमा सुदूरपश्चिमका हजारौं कार्यकर्ता र लाखौं जनताको सहानुभूति छ।
तर सुदूरपश्चिम प्रदेश सभामा माओवादी संसदीय दलको नेता हुँदा र पार्टी प्रदेश इन्चार्ज हुँदा काम गर्न सक्नुभएन भन्ने तपाईंमाथि आरोप छ!
संसदीय दलको नेता भएपछि पार्टी अध्यक्ष प्रचण्डको सल्लाह, सुझाव र निर्देशन विपरीत मैले काम गरेको छैन। यदि मैल गलत गरेको छु भन्ने हो भने प्रचण्डको निर्देशन पनि गलत हो भनेर बुझ्नुपर्छ। अर्को कुरा सुदूरपश्चिममा माओवादी दोस्रो ठूलो दल हुँदा हुँदै पनि तुलनात्मक रूपमा कमजोर मानिएका मन्त्रालयमा हाम्रा तर्फबाट मन्त्री पठाउनुमा मेरो कुनै भूमिका छैन। त्यो सत्ता गठबन्धनले संघमै गरेको सहमति र समझदारीबमोजिम भएको कुरा हो। म लड्ने ठाउँमा लडेको छु। तर प्रदेश संसदीय दलमा साथीहरूले मैले नगरेको गल्तीमा पनि आरोप लगाएर मलाई हटाउनुभयो। मैले स्थानीय तहको निर्वाचनदेखि प्रदेश पदाधिकारीको निर्वाचनसम्म प्रदेश कमिटीको सहमति र समझदारीमै निर्णय गर्दै आएँ।
स्थानीय तहको निर्वाचनदेखप प्रदेशको पदाधिकारी चयनसम्मको हरेक एजेण्डामा सहमति नै गर्यौं। पार्टीका अध्यक्ष प्रचण्डले पटक-पटक माओवादी घटकहरू एक हुने कुरा गर्नुहुन्छ। जनयुद्ध दिवस मनाउँदै गर्दा फागुन १ पनि उहाँले यही आह्वान गर्नुभएको थियो। तर उहाँले आह्वान गर्नुअघि नै सुदूरपश्चिम प्रदेशमा हामीले यो काम डेढ वर्षअघि नै गरिसकेका छौं।
यदि कार्यसमीक्षाकै कुरा गर्ने हो भने २२९ सिटको पार्टीलाई ३२ मा झरेको समीक्षा हुने कि नहुने? त्यति ठूलो पार्टीलाई खुम्च्याउँदै लैजानुमा पार्टीको मुल नेतृत्वको भूमिका हुन्छ कि हुँदैन। यो पार्टी (माओवादी) मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेर २०-२२ हजार मत ल्याउने हैसियत खगराज भट्टबाहेक अरू कसैको छ?
एउटा पालिकामा पनि जित निकाल्न नसक्नेहरू खगराजको क्षमतामाथि प्रश्न उठाउन मिल्छ? मैले मेरो क्षेत्रको दुई-दुईवटा पालिकामा लगातार जित निकालेको छु। तर भन्ने बेलामा खगराजलाई इन्चार्ज भन्ने र अर्को समानान्तर हेडक्वार्टर खोलेर पार्टी चलाउन खोजेपछि त्यसको विरोध गरेको हुँ। काम गर्ने क्षमता नभएको होइन।
माओवादीमा अध्यक्ष प्रचण्डमाथि सार्वजनिक रूपमा प्रश्न उठाउनेहरूलाई स्थान छैन भन्छन्, नजिर पनि त्यस्तै छ। अब तपाई के गर्नुहुन्छ?
पहिले ज-जसले पार्टीमा फरक मत राखेर पार्टीभित्रै संघर्ष गर्न सकेनन्, उनीहरूले सही गरेका होइनन्। त्यअर्थ बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दहरूले गल्ती गरेका हुन्। गलत प्रवृत्तिका विरूद्ध हामी भागेर हैन, डटेर लड्नुपर्छ। पार्टीले बनाएको विधि र विधान छोडेर कसैले पनि निर्णय गर्न हुँदैन, गर्न पनि सक्दैनन्। चाहे त्यो प्रचण्ड होउन् कि अरू कोही।
तपाईंले भर्खरै सकिएको विधान अधिवेशनमै देख्नुभयो नि- प्रत्यक्ष निर्वाचित पदाधिकारीमा माथिको चाहना नहुँदा-नहुँदै पनि हलबाट ९० प्रतिशतले त प्रत्यक्ष निर्वाचितका पक्षमा मत राखे। अध्यक्षले बोल्दाबोल्दै प्रतिवाद गरे। त्यसैले समय आउँछ, अध्यक्षदेखि सबैको समीक्षा हुने समय आउँछ। हामीले पार्टीलाई बलियो बनाउन नै प्रश्न गरेका छौं, निरन्तर गरिरहन्छौं।
पहिले तपाईंले नै बिना मगरलाई सुदूरपश्चिमको इन्चार्ज बनाउन भनेर प्रचण्ड, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई भेट्नुभयो। पछि उहाँलाई सहइन्चार्ज बनाएपछि विरोध गर्नुभयो भन्छन् हो?
बिना मगरलाई प्रयोग गरेर मेराविरूद्ध समानान्तर हेडक्वार्टर बनाउने काम भयो। एकातिर मलाई नेतृत्व दिने अर्कातिर बालुवाटारबाटै प्रचण्डकै परिवारले हेडक्वार्टर चलाउने कुरा भएपछि मैले पटक-पटक भेटेर छलफल गर्न खोजेको थिएँ। मैले बिना मगरसँग धेरैपटक संवाद गर्न खोज्दा उहाँले भेट्न नै चाहनुभएन।
हामीलाई छलफल गराइदिनुस् भनेर अध्यक्ष प्रचण्डलाई दर्जनौं पटकभन्दा पनि उहाँले छलफल गराइदिनुभएन। यता हरेक छलफलमा बिना एक ढंगले आइहाल्ने परिस्थिति बन्यो। प्रचण्डकै परिवारका सदस्य मेराविरूद्ध लाग्ने हो भने र उहाँलाई नै ल्याउन खोजेको हो भने म यस्तो खालको परिस्थितिबाट मुक्त हुन खोजेकै हो। एकातिर इन्चार्ज म हुने प्रचण्डले कुरा बढी बिनाजीको सुनेकोजस्तो अनुभूति हुन थालेको थियो। प्रदेश अध्यक्ष बनाउने कुरामै पनि प्रचण्डजीले हरि चौधरीलाई बनाउनु भन्नुभयो, मैले त्यही अनुसारको निर्णय गरेँ। बिनाजीले अर्कै मान्छे बोकेर हिँड्नुभयो।
म प्रचण्डको आदेश बमोजिम हिँड्ने, बालुवाटारबाट बिनाजीले मेराविरूद्ध निर्णय गर्दै जाने हो भएपछि उसो भए उहाँलाई नै इन्चार्ज बनाउनुहोस् न त भनेको हुँ। कस्तो परिस्थितिमा भनेको थिएँ भनेर परिस्थिति त बुझ्नुपर्यो नि नेतृत्वले।
अध्यक्ष प्रचण्डसँग तपाईंको पहिले राम्रो सम्बन्ध थियो, एकाएक कुरा बिग्रिने परिस्थिति किन आयो?
अध्यक्ष प्रचण्डले जे भन्नुभयो त्यो गर्नुभएन, जे गर्नुभयो त्यो भन्नुभएन। उहाँलाई केही मान्छेहरूले गलत तरिकाले ‘ट्रिट’ गरे। त्यहीँबाट कुरा बिग्रियो। म इन्चार्जजस्तो तर बाहिर अरूलाई सुनेजस्तो भयो, नेतृत्वको त्यो तरिका त गलत हो नि। हैन र?