नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पनि छलफल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। सभापति देउवाले केही दिनअघि लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गर्दै सहकार्यको प्रस्ताव राखेका थिए।
सत्ता गठबन्धनमा सामेल नहुने निर्णय गरेको राप्रपासँग पनि छलफल गर्न कांग्रेस नेताहरूले सभापति देउवालाई आग्रह गरेका हुन्। राप्रपाले प्रदेशहरूमा तत्काल सरकारमा सहभागी नहुने बताए पनि सरकारलाई समर्थन गर्ने ढोका भने खुला राखेको थियो।
कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई थप दलको सहयोग लिएर निरन्तरता दिन खोजेको छ। त्यसका लागि सातै प्रदेश सभापति र संसदीय दल नेताहरूसँग पार्टी पदाधिकारी र पूर्वपदाधिकारीले मंगलबार सभापति देउवा निवास बूढानिलकण्ठमा छलफल गरेका छन्।
कांग्रेस नेतृत्वमा अहिले सदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी सरकार छ। सत्ता गठबन्धनमा नरहेका दलहरूसँग संवाद गरेर प्रदेश सरकारहरूलाई निरन्तरता दिनेबारे कांग्रेसले छलफल गरेको हो।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले राप्रपासँग पनि छलफल गर्न सभापति देउवालाई आग्रह गरिएको बताए।
‘गठबन्धन बाहिर रहेका दलहरूलाई एकै ठाउँमा ल्याउने हाम्रो प्रयास छ,’ कोइरालाले भने, ‘राप्रपासँग पनि कुरा गर्न सभापतिज्यूलाई हामीले आग्रह गरेका छौं।’