सुर्मा गाउँपालिका नं. २ का वडाध्यक्ष सुरेन्द्र बोहरा जेसिबिको ब्रेकर काण्डमा मुछिएका छन् । वडाध्यक्ष बोहराले बझाङकै जयलक्ष्मी निर्माण सेवाको जेसिबीको ब्रेकर उठाएर लिएको सञ्चालक चक्र बोहराको भनाई छ ।
२०७९ माघमा छबिसपाथिभेरा गाउँपालिकाको जिवलीबाट विना जानकारी सो ब्रेकर वडाध्यक्ष बोहराले उठाएर ल्याएको सञ्चालक बोहराले बताए ।
ब्रेकर ल्याएको बारे आफूलाई जानकारी समेत नदिएको बोहराले बताएका छन् ।
उनले भने, ‘मलाई ब्रेकर लिएको बारे थाहा भएन, जिवलिमा काम भइरहेको थियोे । त्यो बेला छबिसपाथिभेराको जेसिविले लोड गरेर वडाध्यक्षले लिएको भन्ने धेरै पछि थाहा भयो । अहिले वडाध्यक्ष सम्पर्कमा आउँदैनन् । त्यसको हिसाबकिताब गरौँ भनेर थुप्रै पटक बोलाई सके ।’ वडाध्यक्ष बोहराले गोतन्न सडक निर्माणका लागी जेसिबिको ब्रेकर ल्याएको बुझिएको छ ।
यसबारेमा हामीले वडाध्यक्ष बोहरालाई प्रश्न गरेका थियौँ । उनले, ‘यतिका समय के हेरेर बसेको, प्रशासनमा उजुरी दिनुस्, प्रहरीमा उजुरी दिनुस् त्यहीँ कुरा गरौँला’ भन्दै फोन काटे ।
वडाध्यक्ष बाेहराविरूद्व कानुनी प्रक्रिया जाने सञ्चालक चक्र बाेहराले बताए ।
उसो त वडाध्यक्ष सुरेन्द्र बोहरालाई जेसिबि मोह निकै छ । यस अघि सुर्मा गाउँपालिकाको डोजरको मर्मत गर्ने तेल भर्ने जिम्मेवारीमा पनि उनि विवादास्पद बनेका थिए । गाउँपालिकाको जेसिबिमा एकै आर्थिक वर्षमा २० लाखको तेल खर्च भएको विवरण पेश गरेपछि उनीमाथि प्रश्न उठेको थियो । तत्कालै गाउँपालिका अध्यक्ष खडक बोहराले उनको जेसिबिको रेखदेख गर्ने जिम्मेवारी खोसेका थिए । उनले फर्जि विल पेश गरेर रकम बढाएको जानकारहरुको दाबी छ । साथै, ५ लाख बराबरकाे जेसिबि ब्रेकरकाे मुचुल्का नै नगरी गायब पारेकाे कांग्रेस निकट एक नेताकाे दाबि छ ।