सरकारी पैँसामा मस्ती: तलकोटका जनप्रतिनिधिले चलाउँछन् ३ लाख ५२ हजारको मोबाइल

बझाङको तलकोट गाउँपालिकाका जनप्रतिनिधिले राज्य स्रोतबाट लाखौँ रकम बराबरका मोबाइल फोन किनेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८१ अनुसार तलकोट गाउँपालिकाका जनप्रतिनिधिले राज्य कोषबाटै लाखौँ रकमको मोबाइल फोन र चार्जर किनेको खुलासा गरेको छ ।

महालेखाले प्रतिवेदनमा खरिद प्रक्रिया कानुन सम्मत नरहेको औँल्याएको छ । कार्यपालिका सदस्यका लागि दिनेश ट्रेडिङ्गहाउसबाट १० थान मोबाइल र ६ थान चार्जरलाई ३ लाख ५२ हजार ३ सय भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । खरिद गरिएका मोबाइल र चार्जर सहायक जिन्सी खातामा अभिलेख नराखेको एवं सम्बन्धित पदाधिकारीले बुझेको भरपाइ समेत पेस नभको प्रतिवेदनले सार्वजनिक गरेको छ ।

१० थान मोबाइल र ७ थान चार्जरको ३ लाख ५२ हजार ३ सय भुक्तानी गर्दा प्रति मोबाइल ३५ हजार २ सय ३० लागत पर्न गएको देखिन्छ । राज्य कोषबाट खरिद गर्दा महँगा फोन नै प्रयोग गर्नु पर्ने कारण केहो? सरोकारवालाको प्रश्न रहेको छ । खरिद गरिएका मोबाइलको विल, भरपाई समेत पेस नभएकाले लागत मूल्य कति हो भन्ने प्रश्नको उत्तर भेटिँदैन ।

Loading...