सेती नदीमा बाढी: बैतडीका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारियो

सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा मा.वि.मा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सारिएको हो । नदी किनारमा लगाएको तटबन्धमाथि नै जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा–६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा छन् । यसअघि २०७८ साल कात्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो ।

Loading...