बालविवाह, बाल हिंसा र परम्परागत हानिकारक प्रथा विरुद्ध बाल मन्दिर आधारभूत विद्यालयमा सडक नाटक प्रदर्शन गरिएको छ । प्रगतिशील युवा समाज तथा वर्ल्ड भिजनको आयोजनामा शुक्रवार चैनपुर स्थित बालमन्दिर आधारभूत विद्यालयमा विद्यार्थीहरूको बिच सडक नाटक कार्यक्रम प्रदर्शन गरिएको हो । विभिन्न हिंसा सम्बन्धी जनचेतना फैलाउँदै हिंसात्मक गतिविधिको रोकथाम र न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिँदै आएको प्रगतिशीलले जनाएको छ ।
यस अघि जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिका अन्तरगतका विद्यालय, समाजमा गएर जनचेतनामूलक कार्यक्रम सडक नाटक कार्यक्रम सञ्चालन गरिएको हो ।
बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकमा बालविवाहले पार्ने नकारात्मक असर, दु:खपिडा, भविष्यमा निम्तन सकिने घटना र कानुनी कारबाहीबारे सडक नाटक मार्फत कथनमय जानकारी गराइएको थियो ।
प्रगतिशील युवा समाज तथा वर्ल्ड भिजन इन्टरनेशनलले बझाङका हरेक ठाउँमा दिनप्रतिदिन भयावह रूप लिँदै आएको हिंसात्मक गतिविधि रोकथाम र न्यूनीकरण गर्नका लागी समाज, विद्यालयमा गएर विभिन्न सचेतना, जनचेतना, सडक नाटक जस्ता प्रस्तुति प्रदर्शन गर्दै आएको छ । यसले गर्दा समाजमा आमूल परिवर्तन नआएपनी नागरिक र समाजमा केही सचेष्टता भएको छ ।
पछिल्लो केही वर्षयता बालविवाह, भागी विवाह लगायत परम्परागत हानिकारक प्रथा, कुसंस्कारको बिस्तारै अन्त्य हुँदै गइरहेको छ । खराब संस्कारको प्रचलन घट्दै गएपनी राम्रैसँग निर्मूल भने हुन सकेको छैन । प्रगतिशीलले बालविवाह रोकथाममाका लागी सञ्चालन गर्दै आएको कार्यक्रमहरू महत्त्वपूर्ण र प्रभावकारी बन्दै आएको छ ।