बझाङको सुर्मा गाउँपालिका स्थायी घर भई कार्य क्षेत्र भारतको बेङ्लोर बनाएका युवाहरूले सुर्मादेवी मेला व्यवस्थापन गर्न आर्थिक सहयोग गरेका छन् । बैङ्लोर कार्यक्षेत्र बनाएका युवाहरूले सुर्मा प्रवास एकता समाज गठन गरी १ लाख २५ हजार सहयोग गरेका हुन् ।
प्रवास एकता समाजका अध्यक्ष समीर बोहराले रकम संकलन गरी बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीलाई हस्तान्तरण गरेका हुन् । सुर्मा प्रवास एकता समाजले सङ्कलन गरेको रकमले मेलामा अत्यावश्यक सामाग्री खरिद गरिएको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । सो रकम मध्ये ७६ हजार ८ सय बराबरको ४८ वटा न्यानो ब्लाङ्केट खरिद गरिएको छ । १९ हजार ५ सय बराबरको ३ रोल पिपि म्याट खरिद गरिएको छ । खरिद गरिएको ब्लाङ्केट र पिपि म्याट सुर्मादेवी पागरजडी मन्दिर घोगाडा मन्दिरलाई हस्तान्तरण गरिएको छ ।
‘तीर्थ यात्रीको सुविधाका लागि ३० वटा ब्लाङ्केट र २ रोल पिपि म्याट सुर्मादेवी पागरजडी मन्दिरलाई हस्तान्तरण गरेका छौँ । १८ वटा ब्लाङ्केट र १ रोल पिपि म्याट घोगाडा मन्दिरलाई हस्तान्तरण गरेका छौँ’ अध्यक्ष सुर्मेलीले भने ।
साथै, २५ हजार नगद सुर्मादेवी विरिजात मेला व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सो रकम मध्ये २७ सय दुवै मन्दिरको सामाग्रीको ढुवानी भाडामा खर्च भएको सुर्मेलीले बताए । सुर्मा प्रवास एकता समाज एकता समाजको तर्फबाट दुवै मन्दिरलाई पाँच–पाँच सय रुपैयाँ भेटी चढाइएको अध्यक्ष सुर्मेलीले जानकारी दिए ।
सुर्मादेवी विरिजात मेला प्रत्येक वर्ष सुदूरपश्चिमको बझाङ र दार्चुलामा लाग्ने धार्मिक तथा ऐतिहासिक मेला हो । भगवतीका सोह्र शक्ति रूपहरू मध्ये एक सुर्मादेवीको धार्मिक, तथा ऐतिहासिक धरोहरको रूपमा रहेको छ । बझाङको सुर्मा गाउँपालिका र छविसपाथिभेराका बासिन्दाहरूले सांस्कृतिक रूपमा यो मेला मनाउने गर्छन् भने मेलामा हजारौँ भक्तजन तथा पर्यटकहरूको उपस्थिति रहन्छ ।
प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृति जगेर्ना गर्न प्रतिबद्ध रहेको भन्दै सुर्मा प्रवास एकता समाजका पदाधिकारी तथा सहयोग दाताहरूलाई सुर्मेलीले धन्यावाद ज्ञापन गरे ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै सुर्मेलीले भने, ‘सुर्मा प्रवास एकता समाजका सम्पूर्ण सदस्यहरूलाई विशेष धन्यावाद व्यक्त गर्न चाहन्छु । प्रवासमा रहेर पनि मातृभूमिप्रतीको यो प्रेम अतुलनीय छ । उहाँहरूको सहयोगले तीर्थयात्रीहरूले आवास सुविधा पाउने छन् । सम्पूर्ण सहयोगदाताहरूमा हार्दिक धन्यावाद ज्ञापन गर्न चाहन्छु’ अध्यक्ष सुर्मेलीले भने ।