छबिस पाथिभेरा गाउँपालिकाले माछा मार्न बन्द गरेको छ । बुधवार एक सूचना जारी गर्दै पालिका क्षेत्र नदी, खोलामा माछा मार्न नपाइने जनाएको छ ।
छविसपाथिभेरा गाउँपालिकाको जलचर तथा जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को दफा ५ बमोजिम माछाले फुल पार्ने तथा प्रजनन गर्ने समय भदौ, असोज, फागुन र चैत महिनामा रहेकोले पछिल्लो समय अत्यधिक विनाशकारी तरीकाबाट करेन्ट लगाउने, जैविक तथा रासायनिक विषादी प्रयोग गर्ने, महाजाल पासा र नदिखोला थुनछेक गरी माछा मार्दा गाउँपालिका क्षेत्रमा नदी र खोलामा रहेका माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गरिएन भने भविष्यमा वातावरणमा थप नकारात्मक असर पार्ने देखिएकाले माछा मार्न रोक लगाइएको हो ।
गाउँपालिका- १ को जालेवगर देखि देखि तारुगार खोलाको किनारसम्म, भ्यागुते खोलाको र तारुगारखोलाको मुहान सम्म माछा मार्न बन्द गरिएको सूचना मार्फत सूचित गरिएको छ । सार्वजनिक गरेको सूचनाको अवज्ञा गरी कुनै पनि साधन वा तरिकाले माछा मारेको पाइएमा नेपाल सरकारको जलचर ऐन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।