लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत केदारस्युँमा र्‍याली र देउडा प्रतियोगिता 

केदारस्युँ गाउँपालिका : “घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा  आयोजना गरिएको र्‍याली र वडा स्तरीय देउडा प्रतियोगिता सम्पन्न भएको छ । बुधबार देउरा, झोतामा र्‍याली प्रदर्शन सहित गाउँपालिका भवनको आँगनको भव्य देउडा प्रतियोगिता सञ्चालन गर्दै  कार्यक्रम सम्पन्न भएको हो । प्रगतिशील युवा समाज, वल्ड भिजन इन्टरनेशनल नेपालको समन्वय तथा केदारस्युँ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाका आठ वटै वडाबाट महिलाहरूको सहभागिता र उपस्थितिमा लैङ्गिक हिंसा विरुद्धको सन्देश फैलाउने उद्देश्य राखिएको थियो ।

कार्यक्रमको उद्घाटन केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनीषा धामीको अध्यक्षतामा गरिएको थियो। प्रमुख अतिथि केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहरा थिए। कार्यक्रममा गाउँपालिकाका आठ वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।

देउडा प्रतियोगिता अन्तर्गत “महिला हिंसा र बालविवाह अन्त्यका लागि हाम्रो भूमिका” शीर्षकमा विभिन्न वडाका महिला सहभागी भएका थिए। प्रतियोगितामा केदारस्युँ गाउँपालिका वडा नं. ३ प्रथम भएको छ । र सहभागी महिलाहरूलाई सम्मानित गरिएको छ।

गाउँपालिका अध्यक्ष गणेश बोहराले यस अभियानबाट लैङ्गिक हिंसा र बालविवाहका विषयमा व्यापक सचेतना फैलिएको बताए । विशेषतः देउडा प्रतियोगिता मार्फत महिलाहरूलाई आफ्नो आवाज उठाउने अवसर प्राप्त भएको र समुदायमा प्रभावकारी सन्देश प्रवाह भएको बोहराले  बताएका छन्।

कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मनीषा धामीले यस कार्यक्रमले महिला हिंसा र बालविवाहका विरुद्ध गम्भीर कदम चाल्ने महत्त्वपूर्ण सन्देश दिएको र समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास रहेको बताइन् ।

Loading...