धम्पुस घट्टे खोला सडक कालोपत्रेको टेन्डर स्वीकृत, माघदेखि काम सुरु हुने

धम्पुस घट्टे खोला, देउराली हुँदै खानि गाउँसम्मको सडक कालोपत्रे गर्नका लागि टेन्डर स्वीकृत भएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयले गत असार ६ गते टेन्डर आह्वान गरेको थियो ।

सिनियर डिभिजन इन्जिनियर लक्ष्मी भण्डारीका अनुसार प्राविधिक मूल्याङ्कन सकिएको छ र आर्थिक मूल्याङ्कनका लागि एसियाली विकास बैङ्क (एडिबि) लाई पत्राचार गर्न लागिएको छ । उनले माघको पहिलो हप्तादेखि सडक निर्माणको काम सुरु हुने जानकारी दिँदै भने, “टेन्डर स्वीकृत भइसकेको छ, अब माघदेखि काम सुरु हुनेछ । पहिलो चरणमा माटो काट्ने, पर्खाल लगाउने र नाला खन्ने काम गरिने छ ।”

वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले टेन्डर स्वीकृत भएकोमा खुसी व्यक्त गरेका छन् । यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत नहुँदा ढिलाइ भएको वडाध्यक्षले उल्लेख गरे । “वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदै छ । कामले अब फिल्ड स्तरमै गति लिनेछ,” वडाध्यक्ष भण्डारीले जोड दिँदै भने, ‘संरक्षित क्षेत्र र स्थानीयको जग्गाका कारण समन्वय गर्न समय लागेको थियो । अब टेन्डर स्वीकृत भइसकेकाले ढुक्क हुन सकिन्छ, माघदेखि काम अघि बढ्छ ।”

सडक निर्माणका लागि कुल ४४ करोड रुपैयाँको लागत अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा एडिबीले १२ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । यो आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा १३.३०० किलो मिटर सडक स्वीकृत भएको छ ।

सडक कालोपत्रे पश्चात् धम्पुसको पर्यटन, कृषि र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा स्थानीयले व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारः धम्पुस सडक कालोपत्रे गर्ने बाटो खुल्यो, एक महिनाभित्रै टेन्डर आह्वान गरिँदै

Loading...