सुर्मा माध्यमिक विद्यालयद्वारा शिक्षकहरूको मासिक तलब प्रणाली कार्यान्वयन

बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयले शिक्षण पेसामा रहेका शिक्षक र कर्मचारीलाई मासिक रूपमा तलब दिन थालेको छ । विद्यालय व्यवस्थापन समितिले चौमासिक तलब भुक्तानी गर्दा देखिएका समस्याहरू अन्त्य गर्दै मिति २०८१ साल कार्तिक महिनादेखि विद्यालयको कोषबाट मासिक तलबको व्यवस्था लागू गरेको जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर मण्डेलका अनुसार चौमासिक भुक्तानी प्रणालीले शिक्षकहरूलाई वित्तीय समस्यामा पार्ने भएकाले मासिक तलब प्रणाली लागू गरिएको हो। “अब गुणस्तरीय शिक्षाको सुरुवात हुनेछ । यसका लागि शिक्षकहरूको आर्थिक समस्यालाई प्राथमिकतामा राखेर समाधान गरिसकिएको छ,” उनले भने।

विद्यालयको नयाँ व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर बोहराले पदभार ग्रहण गरेसँगै शिक्षकहरूको मासिक तलब सुनिश्चित गर्ने निर्णय गरेका थिए । “शिक्षकहरूको वित्तीय व्यवस्थापनलाई सबल बनाउन यो कदम उठाइएको हो,” उनले भने ।

तलब भुक्तानीका लागि विद्यालयले त्रैमासिक पहिलो महिनामा तीन महिनाको लागि आवश्यक रकम स्थानीय पालिकामा माग गर्ने र पालिकाले विद्यालयलाई आवश्यक बजेट निकासा गर्ने व्यवस्था कार्यान्वयन गरिएको छ । विद्यालयले शिक्षक तथा कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी गर्ने प्रक्रिया अपनाएको छ ।

तर, शिक्षकहरूले मासिक तलब नपाएको गुनासो उठेपछि केन्द्रले हालै लिखित निर्देशन जारी गरेको थियो । सोही निर्देशनको पालना गर्दै विद्यालयले तत्काल मासिक तलब वितरण सुरु गरेको हो । शिक्षकहरूको तलबको नियमितता सुनिश्चित भएपछि विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्ने योजना बनाएको जनाएको छ ।

विद्यालयले उत्कृष्ट शिक्षा दिनको लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यस विद्यालयका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका छन् । स्थानीय समाजमा शिक्षा र ज्ञानको महत्त्वलाई स्थापित गरेको छ । विद्यालयमा हाल ६ सय ५० विद्यार्थी र २२ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

Loading...