बझाङमा दुई छुट्टा-छुट्टै जीप दुर्घटना, ५ जनाको मृत्यु

बझाङमा छुट्टा-छुट्टै जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पहिलो घटना तलकोट गाउँपालिका-२ सुकगाडमा बेलुका ८:३५ बजे भएको हो । तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका-१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी र ७२ वर्षीया जोगेनीदेवी धामीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, मृतक बमबहादुर धामीकी ५ वर्षीया छोरी आकृति धामीलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

त्यसैगरी, दोस्रो दुर्घटना मष्टा गाउँपालिका-१ कोटदेवलस्थित भातेखोलामा राति ९ बजे भएको हो । सु.प.प्र. ०१-००१ ज १३९८ नम्बरको जीप अनियन्त्रित भई कच्ची सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा जीप चालक मष्टा गाउँपालिकाका ४२ वर्षीय धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा चालक मात्रै सवार थिए ।

दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...