देशभर छरिएर रहेका दलित समुदायका अभियन्ताहरूको गोलमेच बैठकले आगामी वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक न्याय अभियानका संयोजक तथा पूर्व राजदूत डा. निर्मल विश्वकर्माको नेतृत्वमा १०१ सदस्यीय गोलमेच सम्मेलन मूल आयोजक समिति गठन गरेको छ । समितिमा विभिन्न दलित अभियन्ताहरू सहभागी छन् । कास्टवाच नेटवर्कका संयोजक डा. मित्र परियार, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, दलित जागरण अभियानका संयोजक राजेश मयाल अग्नि शिखा, छुवाछुत विरुद्ध राष्ट्रिय अभियानका संयोजक कर्ण विश्वकर्मा, भीम आर्मी नेपालका संयोजक सुनिल राम, युवा अभियानकी सङ्गीता कुमारी राम, र दलित मुक्ति अभियानका संयोजक कृष्ण विश्वकर्मा लगायत सदस्यहरू छन् ।
यस्तै गोलमेच सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न पाँच उपसमिति निर्माण गरिएका छन् । जसमा दलित मुक्ति विचार निर्माण समिति संयोजक डा. निर्मल विश्वकर्मा, आर्थिक समिति संयोजक अग्नि शिखा, व्यवस्थापन समिति संयोजक सरोजदिलु विश्वकर्मा, प्रचार-प्रसार तथा मिडिया परिचालन समिति संयोजक रेम विश्वकर्मा, सङ्घ-संठन र जन परिचालन समिति संयोजक सुनिल राम रहेका छन् ।
दलित अभियान संयुक्त मोर्चाको गठन:
बैठकले डा. मित्र परियारको नेतृत्वमा दलित अभियान संयुक्त मोर्चा समिति गठन गरेको छ। यस समितिमा डा. निर्मल विश्वकर्मा, खगेन्द्र सुनार, राजेश मयाल अग्नि शिखा, कर्ण विश्वकर्मा, सुनिल राम, सङ्गीता कुमारी राम, कृष्ण विश्वकर्मा लगायत सदस्यहरू छन् । यो मोर्चाले देशभरका सबै दलित अभियानहरूलाई एकीकृत गर्ने जिम्मेवारी पाएको छ ।
नयाँ वैचारिक मार्गदर्शनको तयारी :
गोलमेच सम्मेलनको मूल आयोजक समितिका संयोजक डा. निर्मल विश्वकर्माले यो सम्मेलनले दलित मुक्तिका लागि नयाँ वैचारिक मार्गदर्शन तयार गर्ने र देशभरका दलित अभियन्ताहरूलाई एकजुट गराएर राष्ट्रिय शक्ति निर्माण गर्ने बताए ।
दलित जागरण अभियानका संयोजक राजेश मयाल अग्नि शिखाले सम्मेलनपछि यो समुदायले समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि नयाँ ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
संविधान संशोधन र चेतावनी:
बैठकले संविधान संशोधनका विषयमा गहन छलफल गरेको छ। सत्तासीन दलहरूबिच संविधान संशोधनको सहमति भए पनि दलित समुदायलाई उपेक्षा गर्ने खालको संशोधन भए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । दलितका लागि दलित अभियानका केन्द्रीय सदस्य सुशील ओखेडाले संविधान संशोधन दलित मैत्री बनाउन आवश्यक रहेको र त्यसका लागि दबाब जारी राख्ने बताए ।
सम्मेलनले नेपालको दलित समुदायको हकहित, सामाजिक न्याय, र अधिकार स्थापनामा बलियो भूमिका खेल्ने विश्वास सँगै राष्ट्रिय गोलमेच सम्मेलनमार्फत नयाँ वैचारिक आधार निर्माण गर्ने तयारीले दलित मुक्तिका अभियानलाई गति दिने बताइएको छ ।