बझाङ, चैनपुरका बादी समुदाय विद्युतको महसुल तिर्न नसक्दा अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले पाँच महिनादेखि विद्युतको लाइन काटिएपछि उनीहरूको जीवन झन् कठिन बनेको छ । यति मात्र नभई, खानेपानीको पाइप समेत हटाइएपछि उनीहरू थप समस्यामा परेका छन् ।
स्थानीय बम्म बादीले विद्युत र पानीजस्तो आधारभूत आवश्यकताबाट वञ्चित हुँदा आफ्नो जीवन अत्यन्तै कष्टकर भएको बताए । “बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ, तर घरमा आएर बत्ती नहुँदा के गर्ने? हाम्रो अवस्था कसले बुझिदिन्छ?” उनले गुनासो गरे ।
यसरी अन्धकारमा बस्नुपर्दा विद्यार्थीहरूले सबैभन्दा ठुलो समस्या भोगिरहेका छन् । बिधुत नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । उनीहरूको भविष्यमा प्रत्यक्ष असर पर्ने खतरा छ । विद्यार्थी रवि बादी भन्छन्, “पढ्न त परको कुरा, साँझपख खाना पकाउनसमेत गाह्रो छ। हामीलाई कसैले हेर्दैन ।”
बादी समुदायको यस्तो अवस्था राज्य र स्थानीय सरकारको लापरबाहीको कारण भएको उनीहरूको आरोप छ । “हामीले राज्यसँग बारम्बार सहयोगको याचना गर्यौँ, तर सुनुवाइ भएको छैन । हाम्रो जीवन कति कठिन छ, त्यो राज्यले कहिले बुझ्ने?” बम्म बादीले थपे ।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण बझाङ शाखा वितरण केन्द्रले समयमै विद्युत महसुल बुझाउन नसक्दा लाइन काटिएको जवाफ दिएको छ ।
समस्यामा परेका बादी समुदायलाई पुनः विद्युत र खानेपानीको व्यवस्था मिलाउन स्थानीय सरकार र सरोकारवाला निकायले तुरुन्त पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।