केदारस्युँ गाउँपालिकामा १० वर्षीय शिक्षा योजना निर्माणका लागि कार्यशाला सम्पन्न

केदारस्युँ गाउँपालिकामा गुणस्तरीय सिकाइ र शिक्षा पहुँच सुनिश्चित गर्न विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० वर्षीय शिक्षा योजना निर्माणका लागि कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा र सामुदायिक विकास केन्द्र (सि डिसी) डोटीको प्राविधिक सहयोगमा मङ्गलवार सुरु भएको उक्त कार्यशाला बुधवार समापन भएको हो ।

 

कार्यशालाको मुख्य उद्देश्य शिक्षाको गुणस्तर वृद्धि गर्दै सबैका लागि समान शिक्षा पहुँच सुनिश्चित गर्नु, विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधारका लागि दीर्घकालीन रणनीति निर्माण गर्नु रहेको थियो । कार्यशालामा स्थानीय शिक्षाविद्, शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय  सहभागिता रहेको थियो ।
कार्यक्रमका मुख्य गतिविधि र निष्कर्ष 
कार्यशालामा शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका उपायहरूमाथि बृहत् छलफल गरिएको थियो । सहभागीहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्दै १० वर्षीय योजना निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए । कार्यक्रममा क्यालिब्रेसन टूलकिट र योजना लेखनसम्बन्धी अभ्यास पनि गराइएको थियो । जसले स्थानीय सरकारलाई शिक्षा योजना र बजेट निर्माणमा थप सक्षम बनाउने लक्ष्य राखेको छ ।

 

रणनीतिको प्रभाव र अपेक्षा
कार्यशालाबाट तयार गरिएको १० वर्षीय रणनीतिले केदारस्युँ गाउँपालिकाको शैक्षिक स्तरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको छ । यसले विद्यालयमा शिक्षाको गुणस्तर सुधार्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि महत्त्वपूर्ण आधार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

 

सामुदायिक विकास केन्द्र (सि डिसी) का शिक्षा अधिकृत  पदमा खत्रीले भने, “हाम्रो सहयोग प्रभावकारी योजना निर्माणमा केन्द्रित छ । यो कार्यशालाले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै शिक्षा क्षेत्रको सुधारमा महत्त्वपूर्ण योगदान दिनेछ । सि डिसी सधैँ शैक्षिक विकासमा प्रतिबद्ध रहेको छ।”

 

गाउँपालिका अध्यक्ष गणेश बोहराले समापन समारोहमा भने, “गुणस्तरीय शिक्षा नै समृद्धि र विकासको मुख्य आधार हो । यो कार्यशालाबाट तयार भएको रणनीतिले केदारस्युँ गाउँपालिकालाई शैक्षिक सुधारमा उदाहरणीय बनाउनेछ । शिक्षामा गरिएको लगानीले बालबालिकाको भविष्य निर्माण गर्न र समाजलाई उन्नत बनाउन सहयोग पुर्‍याउनेछ ।” गुणस्तरीय शिक्षाको लागी शिक्षाविदले अध्ययन गरेर साच्चिकै बनाएको यो कार्यशाला अत्यन्तै अपरिहार्य छ उनले भने ।

 

कार्यशालाले गाउँपालिकाको शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि नयाँ मार्गचित्र प्रस्तुत गरेको छ । सहभागीहरूले योजनाको प्रभावकारी कार्यान्वयनका लागि दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । यो १० वर्षीय शिक्षा रणनीति केदारस्युँ गाउँपालिकाको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धि हुने अपेक्षा गरिएको छ ।
Loading...