छबिस पाथिभेरा गाउँपालिका- ७ स्थित मजखोरी माध्यमिक विद्यालयले निजी स्रोतबाट नियुक्त शिक्षकहरूको पारिश्रमिक व्यवस्थापन गर्न आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको पौष २४ गते बसेको बैठकले विद्यालयमा विद्यार्थी र शिक्षक अनुपात सन्तुलन नहुँदा शैक्षिक गुणस्तरमा असर परिरहेको भन्दै थप शिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।
मजखोरी माविले विगतदेखि नै विद्यालयको कोषबाट निजी स्रोतका शिक्षकलाई तलब-भत्ता व्यवस्था गर्दै आएको भए पनि हाल आर्थिक स्रोतमा आएको कमीका कारण तलब-भत्ता उपलब्ध गराउन समस्या भएको बताएको छ । यो समस्याको समाधानका लागि विद्यालयले विशेष निर्णय गर्दै रोजगारीको सिलसिलामा भारतलगायत अन्य स्थानमा रहेका स्थानीय शिक्षा प्रेमी, बुद्धिजीवी तथा शुभेच्छुकलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
विद्यालयले यस अभियानमा सहयोग गर्ने व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ। यश कार्यलाई विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्नका लागि र विद्यार्थीको भविष्य सुनिश्चित गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको प्रधानाध्यापक वसन्त बहादुर मण्डेलले बताएका छन् ।
विद्यालयले शिक्षाको उज्ज्वल भविष्यका लागि सबैको सहकार्य र योगदानले मात्र समस्याको समाधान गर्न सकिनेमा विश्वास व्यक्त गर्दै यस अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।