न्यायको खोजीमा राहत र करार शिक्षक

जति बेला देश सशस्त्र द्वन्द्वमा थियो ।
राज्य र विद्रोही पक्ष दुबैको दबाब थियो ।
शहरका नेताहरु र कर्मचारीहरु सदरमुकाममा झोला झिम्टा बोकेर बसेका थिए, तलब खाँदै थिए ।
तर त्यसै समयमा दुर्गम बस्तीमा जीवनको जोखीम मोलेर शिक्षाको उज्यालो छर्ने तिनै शिक्षक थिए — जो राहत र करार सेवामा थिए ।

त्यही समयमा राज्यसँग दरबन्दी खुलाउने सामर्थ्य थिएन ।
अंग्रेजी, गणित, विज्ञान जस्ता विषयमा स्नातक वा स्नातकोत्तर पास गरेका शिक्षकहरुले अध्यापन अनुमति लिएर काम गरे ।
आज तिनकै पढाइबाट उत्पादन भएका माननीय, शाखा अधिकृत र विज्ञहरु छन् ।
तर आज ती शिक्षकलाई ‘अक्षम’, ‘झोले’, ‘विचरा’, ‘कार्यकर्ता’ जस्ता अपहेलाजन्य शब्दले हेप्ने क्रम बढ्दो छ ।

आजको इन्टरनेटको युगमा हामी विश्वलाई मुठीमा राख्न सक्छौं ।
तर त्यही शिक्षकले पढाउने बेलामा गाउँमा चिठी पढ्ने मानिस खोज्नुपर्थ्यो ।
त्यस समयको चिठी लेख्ने व्यक्ति आजको आई टी अफिसरसँग दाज्न मिल्छ ?
त्यस समयको पिठ्युँमा बच्चा बोकेर स्कुल पुर्‍याउने बाबु र आजको स्कुल भ्यानको बाबुलाई तुलना गरेर, उही पुरानोलाई ‘कमजोर’ भन्न सकिन्छ ?
बर्षौं बोकेर थाकिसकेको गधा र भर्खर हुर्किएको घोडालाई एउटै दौडमा राखेर पुरस्कृत गर्न मिल्छ ?

राज्यसँग शिक्षकका लागि न्यूनतम लगानी गर्ने अवस्था थिएन ।
तर सत्तामा बसेका शासकहरू आलिसान महलमा मस्ती गर्दै थिए ।
त्यही बेला न्यून सुविधा, न्यून तलब, जोखिमपूर्ण अवस्थामा गाउँमै बसेर पढाउने शिक्षकले आज एक सक्षम पुस्ता उत्पादन गरे ।
आज ती शिक्षकको सम्मान हुनुको सट्टा, तिनै आफ्ना शिष्यबाट अपमान सहनुपरेको छ ।

अझै तिमीहरु भन्ने गर्छौ – राहत र करार शिक्षक अक्षम छन् ।
तर ती शिक्षकहरू स्नातक, स्नातकोत्तर पास छन् ।
लाइसेन्सधारी छन् ।
अंग्रेजी, गणित, विज्ञान पढाउने जनशक्ति हुन् ।
के यो सबैलाई बेवास्ता गर्दै, उनीहरूलाई पदबाट हटाउनुपर्छ भनेर अपमान गर्नु नै समाधान हो ?

यदि शिक्षकले पढाएको पुस्ता सक्षम छ भने त्यो शिक्षाको जग कसले राख्यो ?
त्यसको उत्तर हो – ती राहत, करार, निजि विद्यालयका शिक्षकहरूले ।
आज यदि उनीहरू असक्षम भइदिएको भए, नेपालका हजारौं युवा भारत, चीन, अमेरिका पुग्न सक्ने अवस्था पनि आउँदैन थियो होला ।

देश विकास गर्न नयाँ पुस्ता चाहिन्छ ।
तर पुरानो पुस्तालाई अपहेलना गरेर होइन, सम्मानजनक हस्तान्तरण गरेर मात्र यो सम्भव छ ।
यदि उनीहरूलाई सेवाबाट हटाउनै छ भने ससम्मान फिर्ता गर ।
तर उनीहरूलाई शिक्षककै रूपमा राख्न हो भने, तिनीहरूको योगदानको सम्मान गर ।

नेपाल केवल तिमीहरूजस्ता ‘फुली लगाएकाहरू’ को मात्रै होइन ।
त्यसको हकदार उनीहरू पनि छन् – जसले बिनातलबको अवस्थामा पनि बगिरहेको रगतसँग शिक्षा रोपेका थिए ।

Loading...