स्वर्गकी अप्सरासँग ७ दिन

बिहानी, मध्याह्न, गोधूली साँझको रारा । मुर्माटपबाट देखिने रारा, त्यतिमात्र होइन दिनमा एक पटक हवाईजहाजले फनक्क फन्को लगाउने रारा । चराचुरुङ्गीको आवाजले गुन्जयमान रारा । हावासँगै छालहरूले किनारलाई छुन खोज्ने रारा, मन परेको गीतहरू सुन्दै मचानमा बसी हेरिएको रारा ।

रारा अर्थात स्वर्गकी अप्सरासँग ७ दिन मेरो लागि थोरै समय होइन । रारा घुम्न पुग्नेहरू बढीमा २/३ दिनमा फकिन्छन् ।  प्रायः एक रात बसेर फर्कन्छन् । यहाँसम्म पुगियो मुर्मा टप पुगौँ न त भन्नेहरू कमै भेटिन्छन् । यदि तपाई रारा पुग्नु भएको छ भने कुन वर्गमा पर्नु भयो आफै सम्झनुहोला ।

मैले भन्न खोजेको पुग्नै पर्छ भन्ने त छैन तर पुगेको एकदमै उत्तम । अझै ठाडो भाषामा भन्नुपर्दा रारा जानु भयो भने मुर्मा टप नपुगी फर्कनु भनेको ९० प्रतिशत प्रतिशत राराको तालको सुन्दरता हेर्न छुटाउनु हो । मुर्मा टपको डाँडा त रारा हेर्न कै लागि बनाएको हो । तल रारा ताल हुँदैन थियो भने मुर्मा टप पनि हुँदैन थियो होला । अब सोच्नुहोस् त्यहाँ पुगेपछि कस्तो देख्छ रारा ।

ओखर बोटबाट सिडी हुँदै उकालो लागेपछि जति-जति माथि पुग्दै गयो । पछाडि फर्किँदै हेर्दा त्यति राराको सुन्दरता खुल्दै थियो । मतलब फराकिलो देखिँदै थियो ।

सिटामोल खाएर नशा चुँडिने गरी छाती दुख्दै, खोक्दै, स्वाँस्वाँ गर्दै मुर्मा टप पुगे त्यति बेला २ बजेको थियो । दिउँसो ३,५०० मिटर माथि मान्छे उडाउने हावा चलिरहेको थियो । ओहो बल्ल रारा तालको दृश्य आँखामा अटायो पुरै रारा ताल टक्क आँखा नझिम्काईकन हेर्दा त रारा ताल पनि म सँग लजायो होला कस्तो आँखा नझिम्काएर एकोहरो हेरेको भनेर । रारालाई फरक-फरक समयमा फरक–फरक स्थान बाट हेर्ने ठुलो रहर थियो । त्यसपछि मुर्मा टपबाट १५ मिनेट तल ओर्लिए पछि रारा इको रिसोट छ ।

त्यहाँबाट पनि राराको पुरा दृश्य हेर्न सकिन्छ ब्याग कोठामा राखेर होटेल वरपर डुलेँ । खाना खाने कटेजको झ्यालबाट रारा ताल हेरे । पाहुना सुत्ने घरको तल्लो तलाको बायाँ झ्यालमा त झन् साँझपख सूर्यास्त हुँदा टलल्ल टल्केकाे हिमाल रारा तालको आधि भागको रिफेलेक्सन बबाल देखिएको थियो ।

बिहान ५ बजे उठेर सुर्यदय हुन लाग्दा त रारा ताल देखेर म चकित परेँ । निलो रङ्ग नै गायब थियो । खाना खाँदै श्रुति संवेग सुन्दै पनि रारा हेरेँ । उकालो चढ्दा खुल्दै गएको रारा फर्किँदा साँगुरो हुँदै गएको थियो । जङ्गलको बाटो बरालिँदै बिस्तारै हिँडे । जङ्गलभित्र बिस्तारै हिड्नु भनेको विभिन्न प्रकारका चराचुरुङ्गी र जीव जन्तुसँग भेट हुनु हो । मैले कालिज देखेको थिएँ । त्यो फोटो खिचेन भिडियोमा छ । पछि युट्युबमा आउँछ । ओखर बोट पुग्दा साँझ पखको ६ बज्न थालेको थियो । निजार पुल माथिको आकाशमा त पुरै गोल्डेन बादल कुदिरहेको थियो । बादल हेरेर चकित परे । भोलि पल्ट बिहान दाइहरूलाई सोधे, ‘रारा ताल फन्को लगाउन कति समय लाग्छ?’ उनीहरुले करिब ६ देखि ७ घण्टा लाग्ने बताएपछि मैले बोट नचढ्ने निर्णय गरे ।

सकेसम्म धेरै ठाउँ हिँडेर पुगे । एउटै ताल भित्र घुमिरहेको पानीले ठाउँ अनुसार फरक अबाज दिन्छ । निजार पुल रारा तालको निकास छ । त्यहाँ पुग्दा रारा तालको पानी बगिरहेको सुनिन्छ । ठाकुर नाथ साइटमा पुग्ने हो भने समुन्द्र छेउमा छु जस्तो लाग्छ पानीको छालहरूले किनारमा हिँडिरहेको मान्छेलाई छुनै खोज्छ । ओखर बोट नजिकको पानीको आवाज बलु–बलु टाइपको छ । मिली चौरबाट पुरै सात्यिक टाइपका सिनहरू देखिन्छन् । मानौँ त्यहाँ कुनै कवि, लेखक, गजलकार पुग्यो भने के–के चाहिँ लेख्छन् होला । छुट्टै खालकाे आनन्द छ । म भिडियो बनाउने भएकोले त्यसलाई सिनेमाटिक भिडियो खिच्न मिल्ने ठाउँ भन्छु ।

मिलिचौरको अर्को विशेषता भनेको चंखेली हिमालको आधि भाग देख्न पाइन्छ । अनि बोट चढ्ने ठाउँ नजिकै छ ।  त्यहीनेर माछाहरूको वासस्थान छ । विश्वकै अग्लो स्थानमा पाउने हिमाली असला प्रजातिको माछा पाउँछ त्यहाँ ।निकुञ्ज कार्यालय, डाँफे होटेल, ओखर बोट र निजार पुलसम्म रारामा पाइने एक मात्र रैथाने मरुल चराको एकलौटी राज चल्छ । पानीमा डुबुल्की मार्दै रमाई रहेको देखिन्छन्। जाडो महिना बसाईसराई गरेर आउने चरालाई भने हामीले तालको जुन सुखै कुनामा पनि देख्न सक्छौँ । दिनभर चलायमान देखिने रारा साँझ पर्न थालेपछि शून्यतामा पुगेको जस्तो लाग्छ । मस्त निद्रामा परेको जस्तो । राति  ९ बजे मैले ३/४ पटक यताउता गरेकी छु ।

किनार वरपर एक दिन जर्मनी र जापानको गेम हेर्न बाट फर्किदा लाग्यो भित्रको माहौल त पुरै तातिएको थियो बाहिर त यस्तो चिसो पो रहेछ हामी मान्छे मात्र हो । नियम मिच्ने प्रकृतिले कहिले नियम मिच्दैन समय सँगै चल्छ ।

निकुञ्ज काम काम गर्ने पदम दाइ लाई सोधेँ, ‘किन हो दाइ रारालाई जति हेरे पनि हेरौँ लाग्ने तपाईँहरू लाई त दिक्क लाग्छ होला है?’

दाइले मुस्कुराउँदै जवफा दिए, ‘बहिनी हामी २/३ वर्ष यहीँ बस्दा त एक दिन पनि नहेरौँ, नखिचौँ, नडुलौँ जस्तो लाग्दैन । जति हेर्यो त्यति राम्रो लाग्छ ।’

रारा सँगै साँचै एउटा अद्भुत रहेछ । हेरेर नअघाउने डुलेर नथाक्ने । जति हे¥यो त्यति राम्रो हेरिरहौँ लाग्ने अँगालोमा कसिरहौँ जस्तो लाग्ने ।

पहिला देखिनै रारा पुग्न मन थियो तर एक्लै । फेरि एक्लै किन भन्नुहोला एक्लै पुग्नु घुम्नुको एउटा बेग्लै मज्जा भनेको गहिराइमा डुबेर अनुभव गर्न पाइन्छ । हरेक कुरालाई प्रकृतिलाई अथाह प्रेम गर्न पाइन्छ । साथीसँगै भए, ‘हेर्न कस्तो राम्रो ताल ।, ओइ खिच्देन फोटो । ओइ यहाँनेर यस्तो टिकट्क बनाऔँन ।’ अनेक हुन्छ ।

त्यतिमात्र होइन, ठ्याकै प्लान गरेर हिड्न पर्छ । आज बस्ने भोलि फर्कने भनेर । भन्न खोजेको लिमिटेशन हुन्छ । मलाई यात्रामा लिमिटेशन राखेको र भएभरको योजना कोरेको मन पर्दैन ।

म ग्रुप ट्राभल मन पराउँदिन भन्ने चाहिँ होइन है । ठाउँ अनुसार मन पर्छ । जस्तो कि अलि नाम चलेका गन्तव्यहरू, सेवा सुविधा भएका रुटहरुमा ३/४ जनाको ग्रुप ट्राभल पनि छुट्टै रमाइलो हुन्छ । तर प्रकृति लाई बुझ्नु छ, महशुस गर्नु छ, केही दिन हराउनु छ भने लुकेका गन्तव्य हरु वा एक्लै जान एकदम मन पर्छ ।

रारा पनि आन्तरिक र बाह्य पर्यटकको बाक्लै आवात–जावत हुने ठाउँ हो । म समय कुरेर बसेको थिए कुन बेला गयो भने म रारा ताललाई एक्लै धित मरुन्जेल हेर्न सक्छु भनेर । ठ्याकै चुनावको समय पारेर गएँ । साँच्चै सोचे जस्तै भयो । चुनाव पछि बिस्तारै मान्छेहरु आउने–जाने क्रम जारी थियो । अझै रुघाखोकी नलागेको भए मैले रारा तालसँग नछुटिने माया पिरती लगाऊँथे होला । सन्चो नहुँदा अलि मज्जा आएन तर जे–जे भयो गजब भयो ।

रारामा कम्तीमा ३ दिन बिताउनु होला । मुर्मा टप नगएर नफर्किनु होला । त्यसपछि मैले किन यस्तो भनेको रहेछु पछि आफै उत्तर पाउनु हुन्छ ।

सोलो ट्रावल को लागि रारा सुरक्षि छ?

मेरो दृष्टिकोणबाट भन्ने हो भने मलाई संसारको कुनै पनि कुना असुरक्षित छ जस्तो लाग्दैन । समयको खेल हो । मान्छेहरूको सोच हो, घरभित्र पनि हिंसा भइरहेको हुन्छ । समाज, टोल र गाउँभित्र पनि नराम्रो घटना घटिनै रहेको हुन्छ ।

त्यसैले सबै भन्दा पहिला फराकिलो सोच, दृढ ईच्छाशक्ति र आफू माथि विश्वास गर्नु पर्छ ।

रारा, कर्णालीका अन्य गन्तव्य भन्दा सजिलो छ । हवाईजहाजमार्फत जानु भयो भने ७५०० भाडा लाग्छ । ताल्चा एयरपोटमा ओर्लिएर गाडीमा सल्लेरीसम्म पुगेर हिँड्दै मिलिचौर जानसक्नु हुन्छ ।

म चाहिँ ताल्चा ओर्लिएर निकुञ्जको चेक पोस्ट हुँदै ठाकुरनाथ हुँदै पुगेको हो । मलाइ ३ घण्टा लाग्यो । त्यहाँ पुग्दा ७ बजेको थियो एकदमै अँध्यारो थियो । पछाडि फर्केर कति हेरेँहेरेँ ।

सोलो ट्राभलमा सामान अलि धेरै बोक्न पर्छ कुन । बेला के चाहिन्छ थाहा हुँदैन । सो अलि ब्याग बोक्न दःख हुन्छ ।

साथी भेटिन्छन् । अनि भेटेकाहरु लाई कसरी विश्वास गर्ने । सधैँ एकनास हुँदैन । भेटिन्छन् भन्ने पनि छैन । विश्वास त गर्नु पर्छ आफु सजक रहन पनि सिक्नु पर्छ । यात्रा भेटिनेहरु नराम्रो स्वभावको हुँदैनन् । हामी पुग्ने ठाउँमा मान्छे हुँदैनन् कि? कोही छैन कि? भन्ने सोच्नु गलत हो । जहाँ पनि सहयोगी र मनकारी मान्छे भेटिन्छन् ।
त्यो तपाईँको व्यवहारमा भर पर्छ । एकल यात्रा भन्नुको मतलब कोहीसँग नबोल्नु, कोहीसँग नभेट्नु, कोही सँग कुरा नगर्नु, एकल काँटे हुनु होइन । सकेसम्म संसार लाई आफ्नो बनाउने समय हो । मज्जाले कुरा गर्नुहोस् । नयाँ कुरा सिक्नुहोस् । आफुले जानेको सिकाउनुहोस् । स्थानीयसँग भलाकुसारी गर्नुहोस् ।

सोलो ट्राभलले धेरै कुरा सिकाउँछ अरू बिस्तारै भन्दै जाउँला….

 

सोलो ट्राभलर सिर्जनाको फेसबुकवालबाट

Loading...