५० वर्षको समय भनेको एउटा सिङ्गो युगको रूपान्तरण रहेछ । आज धम्पुसको उचाइबाट हेर्दा म हिजोको त्यो सुनसान र शान्त कोटगाउँ फेला पार्न सक्दिनँ, जुन मेरो नशा-नशामा अझै बाँचिरहेको छ । ढुङ्गाले छाएका गुरुङ बस्ती, आफ्नै मौलिक लयमा हिँडिरहेको जीवन र माछापुच्छ्रेको काखमा लुटपुटिएको त्यो मेरो पुरानो घर । त्यहीँबाट सुरु भएको थियो मेरो जीवनको यात्रा, जुन आज एउटा सुन्दर संस्मरण बनेर पानाहरूमा पोखिन खोज्दैछ ।
तत्कालीन धम्पुस गाउँ विकास समिति, वडा नम्बर-६ को कोटगाउँ नै मेरो बाल्यकालको संसार थियो । अहिले बोर्डिङ स्कुल भएको, ठ्याक्कै दायाँतर्फ हाम्रो पुर्ख्यौली घर थियो । ढुङ्गाले छाएका गुरुङ घरहरू, घरैपिच्छे फराकिला ढुङ्गाकै छपनीले छापिएका आँगन र गुरुङ संस्कृतिको त्यो आफ्नै मौलिक लय— साँचै, त्यहाँ एउटा बेग्लै ‘गुड भाइब्स’ महसुस हुन्थ्यो ।
त्यतिबेलाको कोटगाउँ आजको जस्तो व्यावसायिक थिएन । मुस्किलले २०–२५ घरहरू थिए, तर ती घरहरू बीचको आत्मीयता निकै प्रगाढ थियो । गाउँलेहरू बीचको सम्बन्ध कस्तो थियो भने, मानिसहरू एक–अर्काका खेतबारी मात्र होइन, गोठका पशु र तिनका बच्चासम्म चिन्थे ।
खेतीपातीमा अर्मपर्म गर्ने चलन थियो । कसैको खेतमा काम पर्दा छिमेकीहरू नबोलाईकनै हातमा कुटो-कोदालो लिएर आइपुग्थे । कसैको घरमा बिहे वा अर्गौँ हुँदा सिङ्गो गाउँ नै आफ्नो घरको काम जसरी खटिन्थ्यो । दुःख-बिरामी पर्दा डोकोमा बोकेर ओसार्नेदेखि सान्त्वना दिनेसम्म उत्तिकै सक्रिय हुन्थे । भान्सामा केही विशेष पाक्दा छिमेकीलाई नचखाई चित्तै बुझ्दैनथ्यो । कोटगाउँमा मानवता र आपसी भरोसा नै सबैभन्दा ठूलो सम्पत्ति थियो।
हाम्रो घरको आँगनबाट दक्षिणतर्फ सुइखेतका फाँटहरू ऐनाझैँ प्रष्ट देखिन्थे । उत्तरतर्फ फर्कँदा चाँदीझैँ टल्कने अन्नपूर्ण र माछापुच्छ्रे आँखाकै अगाडि मुस्कुराइरहेका हुन्थे ।
तत्कालीन धम्पुसका पुराना गाउँहरू कोटगाउँ, पोखरी र खानी गाउँ मात्र थिए । न्हेगो र देउरालीमा घरहरू थिएनन् । नयाँ गाउँमा पनि मुस्किलले छिटपुट घरहरू देखिन्थे । हिजोको त्यो सुनसान क्षेत्र अहिले ठूलो बजारमा परिणत भइसकेको छ । समयको यो फेरबदल अचम्मको छ ।
हाम्रो घरको दायाँपट्टि एउटा धनसार थियो । त्यहाँ गाउँकै व्यस्त ढिकी थियो । त्यो ढिकी सधैं व्यस्त हुन्थ्यो । गाउँभरिका मानिसहरू अन्न कुट्न त्यहीँ जम्मा हुन्थे । घरको बायाँपट्टि एउटा वृद्ध बज्यैको घर थियो । त्यही घरको पिँढीमा हामी दिनभर ‘खुप्पी’ खेल्थ्यौँ । गाउँभरीका केटाकेटी जम्मा भएर अनेक खेल खेल्थ्यौं । खेल्नका लागि खुल्ला मैदानहरु प्रसस्त थिए । मोजाको बल बनाएर खेल्थ्यौं ।
उता देउरालीमा एउटा ठुलो चौतारी थियो । बटुवाहरू त्यहीँ भारी बिसाउँथे । अहिलेको पृथ्वीनारायण मावि रहेको ठाउमा कोदोबारी थियो ।
त्यतिबेला विवाह र अर्गौँको रौनक बेग्लै हुन्थ्यो । युवायुवतीको दोहोरी र नाचगानले गाउँ गुञ्जायमान हुन्थ्यो । कुलो ढाडामा हरितालिकाको भव्य मेला लाग्थ्यो । दशैँमा घर–घरै पुगेर टीका थाप्ने र आशीर्वाद लिने मौलिक चलन थियो ।
हामी बाल्यकालमा ‘ट्रोटे’ पर्व बडो उमङ्गका साथ मनाउँथ्यौँ । असोज र चैतमा केटाकेटीहरू थाल बजाउँदै गाउँ डुल्ने गर्थ्यौँ ।
त्यसबेलाको धम्पुसको मुख्य पेशा कृषि र पशुपालन थियो । मकै, कोदो, धान प्रशस्त फल्थ्यो । धम्पुसमा खेतीयोग्य जमिन थिएन । धम्पुसका ओरालाहरू ओर्लिएर हामी मकुवा, इदिखोला, घिचुक र करौंचेका फाँटहरूमा पुग्थ्यौँ । बर्खामा धान रोप्न २०–२५ दिनका लागि बेंसी झर्नु एउटा उत्सवजस्तै हुन्थ्यो । करौंचेमा हाम्रो एउटा घर र ठुला खेत थिए ।
धम्पुसबाट हेर्दा असारमा करौंछे पानीले भरिएको कञ्चन पोखरीजस्तो देखिन्थ्यो । तिनै फाँटहरू असोज लागेपछि सुनौला धानका बालाले पहेँलपुर हुन्थे । गाउँलेहरू वर्षमा दुई बाली भित्र्याउँथे । धम्पुसको थुम्कोमा खेतीयोग्य जमिन कम थियो, तर बेंसीका तिनै क्षेत्रले सिङ्गो धम्पुसबासीको पेट भरिरहेका थिए ।
अचम्म लाग्छ समयको चक्र देखेर । हिजोका ती उर्वर फाँटहरू आज जङ्गलमा परिणत भएका छन् । मानिसको पदचाप हराएको छ । धान झुल्ने ती खेतहरू अहिले बाँझो बनेका छन् ।
मेरो बाल्यकालको सुरुवाती समयमा धम्पुसमा पर्यटकहरू आउँदैनथे । म १२–१३ वर्षको भएपछि मात्र विदेशीहरूको आउजाउ सुरु भयो । २०३१ सालतिर धम्पुस, लान्द्रुक र घोरेपानी ट्रेकिङ गर्ने पर्यटकहरूको आगमन बाक्लिन थाल्यो ।
त्यसबेला धम्पुसमा न कुनै होटल थिए, न त पसल । पर्यटकहरू आफ्नै टेन्ट बोकेर आउँथे । हाम्रा पाखा र खेतबारीहरू रङ्गीचङ्गी पालहरूले भरिन्थे । ती पालहरूले गाउँलाई निकै रङ्गीन बनाइदिन्थे ।
पर्यटनको यो क्रम सुरु भएसँगै मेरा बुवाले धम्पुसमा पहिलो ‘अल्पाइन होटल’ सञ्चालनमा ल्याउनुभयो । होटल खुल्नुअघि पर्यटकहरू गाउँका घरका पिँढीमै सुत्थे । तिनै गोराहरूसँग बोल्दाबोल्दै मैले कामचलाउ अंग्रेजी भाषा सिकेँ । ५० वर्षअघिको धम्पुसमा सबै स्थानीय मात्रै थिए । गाउँलेहरूमा गज्जबको आत्मीयता थियो । एक–अर्काका खेतबारी, पशु र साइनो–सम्बन्ध सबैलाई थाहा हुन्थ्यो । त्यो धम्पुस, जहाँ मानवता र आपसी विश्वासको ठूलो महत्व थियो ।
अहिलेको धम्पुस फेरिएको छ । ५० वर्षपछिको यो समयमा यहाँ पुराना स्थानीयहरू कम छन् । मौलिक धम्पुसवासीको सङ्ख्या निकै पातलिएको छ । अहिले यहाँ धम्पुस बाहिरका मानिसहरूको चहलपहल बढी देखिन्छ ।
मेरो विद्यालयका दिनहरू पम्पिको ‘अमरज्योति प्रावि’ बाट सुरु भएका हुन् । पछि त्यसैको नाम ‘पृथ्वीनारायण निम्न माध्यमिक विद्यालय’ रहन गयो । मलाई दिदी र आमाले बोकेर स्कुल पुर्याएको धमिलो याद अझै मनमा छ । दिदी पनि मसँगै पढ्नुहुन्थ्यो ।
हामीलाई तल्लो कक्षामा हल्दार बेलबहादुर गुरुङ, कर्णबहादुर, जौकुमारी गुरुङ, हरिकुमारी गुरुङले कखरा सिकाउनु भएको हो । कालोपाटीमा खरीढुङ्गाले लेखेर अक्षर चिनाउनुहुन्थ्यो । पछि कुलबहादुर भण्डारी, टेकबहादुर भण्डारी, दुर्गादत्त पौडेल, जसबहादुर गुरुङ, इमान गुरुङ र चुडामणि गौतमलगायत गुरुहरूले हामीलाई ज्ञान दिनुभयो ।
अमरज्योति प्राविमा पढ्दा हामी जम्मा २५ जना विद्यार्थी थियौँ । हालका लेखक ईश्वर गुरुङ, खेलाडी नारायण गुरुङ र गोलमान गुरुङलगायत मेरा सहपाठी भएको सम्झना छ । दुर्भाग्यवस त्यतिबेला पम्पिमा रहेको पृथ्वीनारायण निम्न माध्यमिक विधालय पहिरोले लग्यो ।
समयको यो लामो अन्तरालपछि आज फर्केर हेर्दा लाग्छ— भौतिक रूपमा धम्पुस फेरियो होला, तर मेरो मनभित्रको त्यो ‘कोटगाउँ’ अझै उस्तै छ । संस्मरणको यो खण्डलाई बिट मार्दै गर्दा मलाई प्रसिद्ध अङ्ग्रेजी कवि थोमस हुडको त्यो मर्मस्पर्शी कविताको याद आयो, जसले मेरो बाल्यकालको घर र त्यो झ्याललाई हुबहु शब्दमा उतारेझैँ लाग्छ:
आई रिमेम्बर, आई रिमेम्बर,
द हाउस ह्वेर आई वज बर्न,
द लिटिल विन्डो ह्वेर द सन
केम पिपिङ इन एट मर्न;
ही नेभर केम अ विङ्क टु सुन,
नोर ब्रोट टु लङ अ डे,
बट नाउ, आई अफन विश द नाइट
ह्याड बर्न माई ब्रेथ अवे!