
ब्रेकन टाउन— वेल्सको शान्त वातावरण । हरियाली डाँडा, झर्ना । नेपालकै झल्को दिने भूगोल । ऐतिहासिक गोर्खा सैनिकको पदचापले अझै ब्रेकन टाउन गुन्जिरहन्छ ।
गोर्खाहरूको सैन्य इतिहासको सुरुवात सन् १८१४ को एङ्ग्लो–नेपाल युद्ध पश्चात् भएको थियो । युद्धपछि ब्रिटिस—तत्कालीन इस्ट इन्डिया कम्पनीले नेपालीहरूलाई सैनिकमा भर्ना गर्न थालेको थियो ।
भर्ना भएदेखि नै, गोर्खा सैनिकहरू विभिन्न युद्धमा तैनाथ रहे । उनीहरूलाई विश्वभर आफ्नो इमानदारिता र बहादुरी नेपाललाई विश्वमा चिनाए ।
सन् १८६७ को भारतीय विद्रोह होस् वा प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्ध—गोर्खा सैनिकहरूका बहादुरीका कथा अग्रपङ्क्तिमा आउँछन् ।
भारत स्वतन्त्र भएपछि, १९४७ मा ब्रिटेन, भारत र नेपालबिच त्रिपक्षीय सम्झौता भएको थियो । तत्पश्चात् गोर्खा रेजिमेन्टहरूलाई ब्रिटिस र भारतीय सेनामा बाँडफाँड गरिएको थियो । ब्रिटिस सेनाको हिस्सामा परेका बाँकी रेजिमेन्टहरू रोयल गोर्खा राइफल्स (आरजीआर) मा समावेश गरिएको थियो ।
हाल, वेल्सस्थित ब्रेकन क्षेत्र गोर्खा हरूको प्रमुख प्रशिक्षण केन्द्रको रूपमा विकसित भएको छ । गोर्खा र वेल्सको ऐतिहासिक सम्बन्ध छ ।
हरेक वर्ष ब्रेकनमा “ब्रेकन फ्रिडम परेड” सञ्चालन हुन्छ, जसमा गोर्खाहरू प्रत्यक्ष संलग्नता रहन्छ । अझ रोचक कुरा त के छ भने, यो परेड मुख्य रूपमा गोर्खा विंग (मण्डले) द्वारा सञ्चालन हुन्छ । गोर्खा विंग (मण्डले) ब्रिटिस सेनाको इनफ्यान्ट्री ब्याटल स्कुल (आइबिएस) अन्तर्गत एक विशेष इकाई हो ।
ब्रेकन युकेको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले पनि अझै लोकप्रिय छ । यहाँ हरेक वर्ष ४० लाख भन्दा बढी पर्यटकहरू घुम्न आउने गर्दछन् ।
नेपाली गोर्खा र ब्रेकन टाउनको ऐतिहासिक सम्बन्धलाई अझ नजिक बनाउन ब्रेकन टाउनमै “नेपाली भिलेज युके” निर्माण हुँदै छ, जसको परिकल्पनाकार हुन् ब्रिटिस गोर्खा पल्टनका भूतपूर्व मेजर खुशीमान गुरुङ (एमभीओ) ।

कास्कीको मध्ये उत्तरी गाउँ धम्पुसमा जन्मिएका मेजर खुशीमान गुरुङ १८ वर्षको हुँदा ब्रिटिस सेना भर्ना भएका थिए । ब्रिटिस सेनाको उनी गोर्खा पल्टनको उच्चस्तरीय पदमा पुगे । युकेको राज परिवार र फौज बाट उच्च सम्मान प्राप्त गरे । र जागिरे जीवनको ३५ वर्ष पछि उनी अवकाश भए ।
त्यसबिच उनले धम्पुस र वेल्सको ब्रेकनविच भगिनी सम्बन्ध स्थापनाका लागि पहल गरे । उनको पहलमा नेपाल र युके बिच पहिलो भगिनी सम्बन्ध जोडियो । अहिले धम्पुस र ब्रेकन दुई अन्तर्राष्ट्रिय गाउँ एक अर्कामा जोडिएका छन् । दुई गाऊँ को सम्बन्ध अति गाढा बनी सकेको छ ।
मेजर गुरुङले विभिन्न ठाउँहरू लाई आफ्नो कर्म थलो बनाउँदै अन्तिम कर्मथलो वेल्सको ब्रेकन भए पनि मन भने नेपालको डाँडा, पाखा, हरियाली, खोला–नदीहरूमै डुलिरहने गरेको उनी बताउँछन् । फलस्वरूप, मेजर गुरुङको अवधारणामा “नेपाली भिलेज युके” को परिकल्पना यथार्थमा परिणत भएको छ । मेजर गुरुङको नेपाली मन र नेपाली पन अब युकेमा अनुभव गर्न सकिने छ ।

मेजर गुरुङले जागिरे जीवनको अन्तिम पाँच वर्ष गोर्खा कम्पनी ब्रेकन क्याम्पको कमान्डर हुने अवसर प्राप्त गरे । ब्रेकनमै उनले कर्मथलो बनाए । गोर्खा कम्पनीको जिम्मेवारी सम्हालेका मेजर गुरुङ अब भने “नेपाली भिलेज युके”को निर्माणमा सक्रिय छन् ।
१८ वर्षको उमेरमा धम्पुसबाट ब्रिटिस आर्मीको यात्रा सुरु गरेका मेजर गुरुङ विश्वका थुप्रै ठाउँमा पुगे पनि मन भने सधैँ नेपाल, भाषा, संस्कृति र पहिचानमै अडिएको बताउँछन् । प्रवासमा नेपाली समाज छरिएर बस्न बाध्य भएको अवस्था, नयाँ पुस्तामा सांस्कृतिक दूरी बढ्दै गएको चिन्ता उनमा छ । यिनै कारणले उनलाई सांस्कृतिक संरचना निर्माणतर्फ अघि बढायो ।

सन् २०२१ मा मेजर गुरुङ र केही साथीहरूसँगको छलफलबाट “नेपाली भिलेज युके”को परिकल्पना भएको उनी बताउँछन् । साथीहरूले “नेपाली भिलेज युके” को अवधारणा राम्रो छ भनेपछि करिब एक वर्ष गृहकार्य गरेको उनले बताए । एक वर्षपछि एउटा औपचारिक कार्यक्रम आयोजना गर्दै उनले “नेपाली भिलेज युके” को अवधारणा प्रस्तुत गरे । उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत, ब्रेकनका मेयर, स्थानीय संसदहरु ब्रिटेनभरि रहेका नेपाली व्यवसायी र उच्च पदस्थ अधिकारीहरूको सहभागी थिए । कार्यक्रममा सहभागीहरूले राम्रो समर्थन दिए । सोही दिन “नेपाली भिलेज युके” को सेयर पनि खोलियो । धेरैले सोही दिन नै सेयर खरिद गरेका थिए । त्यो दिन मेजर गुरुङका लागि अत्यन्तै खुसीको दिन थियो । त्यो दिन उनले नेपाली मन र नेपाली पनको अन्तर मनको सपनाले मूर्त रूप लिएको थियो ।

“नेपाली भिलेज युके” एउटा समुदायमा आधारित व्यापारिक योजना हो । जसभित्र मिनी नेपाल झल्किने छ । नेपाली जीवनशैली भेटिने छ । नेपाली प्रकृति अनुभव हुने छ । नेपाली वास्तुकला र संस्कृति एकै ठाउँमा अनुभूत हुने ‘मिनी नेपाल’ निर्माण हुने छ ।
अब युकेको यस भिलेजभित्र काठमाडौँको धरहरा देखिनेछ । पशुपतिनाथको दर्शन गर्न पाइने छ । नेपाली चौतारीमा बस्न पाइने छ । ढुङ्गे धाराको पानीले तिर्खा मेटिने छ । अब, युकेमा लुम्बिनी भेटिने छ । सगरमाथा देखिने छ । विश्वलाई नेपाल चिनाउने सम्पदाहरूको प्रतिमूर्ति निर्माण हुने छन् । नेपाल मूलवासीहरूले युकेमा नेपालको झल्को पाउने छन् ।

मेजर खुसीमान गुरुङ (एमभिओ) भन्छन्, “अहिलेको नयाँ पुस्ताले नेपाल अनुभव गरेको छैन । पुर्खाको पेसा, संस्कार, संस्कृति जानेको छैनन् । तसर्थ, यस भिलेजभित्र विभिन्न मौलिक चाढ, पर्व आयोजना हुने छन् । दसैँ, तिहार, ल्होसार बसै अब भिलेज मै बनाइने छ ।”
उनले थपे, “भिलेज भित्रै नेपाली सागसब्जी फलाउने बारी हुने छन् । कोदो, धान फलाउन खेत हुने छन् । परालको टौवा, ढिकी, जाँतो जस्तो नेपालीपन झल्काउने संरचना बनाइने छन् । यसले बालबालिकालाई व्यवहारिक खेती, संस्कार र परम्परा सिकाउने अपेक्षा गरेका छौँ ।”
मेजर गुरुङका अनुसार, “नेपाली भिलेज युके” का लागि अहिलेसम्म १९३ रोपनी जग्गा किनिसकिएको छ । यसमा ठुलो छुट्टी मनाउने घर बनाइने छ । जसको नजिकै हाइकिङ ट्रेल, वाटर स्पोर्ट, बोटिङ, हर्ष–राइडिङ, क्यानोनिङ जस्ता आउटडोर गतिविधि पनि रहनेछन् । यहाँ आउने मानिसले पूरै नेपालकै झल्को पाओस् भन्ने अपेक्षा हो ।”
उनी भन्छन्, “फेज १ भित्र हामीले अवधारणा तयार पार्यौं, सम्भाव्यता अध्ययन गर्यौं र सबैभन्दा महत्वपूर्ण—सेयर संकलनको ठूलो काम पूरा गर्यौं । अहिलेसम्म पुराना २९३ जना सेयरधनी र हाल शेयर खोल्दै गरेका झन्डै १२० जना ले सेयरका लागि नाम दर्ता गरिसकेका छन् । जम्मा सेयरधनीको संख्या ५०० पुर्याउने हाम्रो लक्ष्य छ ।”

उनका अनुसार, फेज २ प्राविधिक रूपमा सबैभन्दा सांस्कृतिक र भावनात्मक चरण हो । “यसमा हामीले आफ्नै मूल गेट, कारपार्क, संग्रहालय, क्याफे, मठ–मन्दिर, धरहरा, लुम्बिनी, नेपाली चौतरी, ढुङ्गे धाराहरू, सगरमाथा लगायतका नेपाली पहिचानका स्मारकहरूको प्रतिकृति निर्माण सुरु गर्नेछौं । विदेशमै बसेर नेपाललाई जस्ताको तस्तै जोगाउने हाम्रो मनसाय यही हो ।”
“फेज ३ मा आवासीय होटल निर्माण वा खरीद हुनेछ,” मेजर गुरुङले भने, “नेपाल चिनाउने, नेपालीलाई जोड्ने र विदेशीहरूलाई नेपाली सत्कारको अनुभव गराउने मौका उपलब्ध गराई ‘नेपाली भिलेज यूके’ को होटलले राम्रो आर्थिक आर्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” जून होटलमा विभिन्न योग गर्ने, विवाह र बैठक जस्ता कार्यक्रमको सुविधा हुने छ ।
उनले थपे, “यो परियोजना मात्र होइन । विदेशमा बस्ने नेपालीहरूको पहिचान, गर्व, इतिहास र भविष्य पुस्ताका लागि संस्कार र संस्कृति सिक्ने विश्वविद्यालय हो ।”
